हिम स्टार उर्जा कम्पनीले असार २४ देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

Share News

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँट गरेको हो । 

यीबाहेक पनि कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो आईपीओ निष्कासन अवधि छिटोमा असार २७ गतेसम्म तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म निष्कासन लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाइनसमेत आवेदनका लागि खुला रहनेछ । 

यस कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी २१ लाख ५० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १७ पैसा छ । सो अवधिसम्म कम्पनी २१ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।