काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा पछिल्लो कारोबार दिन नेप्से परिसूचक सकारात्मक गतिमा अघि बढेको छ । साताको पहिलो कारोबार दिनदेखि नेप्से परिसूचक उकालो लागेको हो ।
निरन्तर तीन कारोबार दिन बढेर नेप्से परिसूचक आज (मंगलवार) २ हजार ६६० दशमलव ३९ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५९५ दशमलव ७४ विन्दुमा रहेको नेप्से तीन कारोबार दिनमा ६४ दशमलव ६५ अंक माथि उक्लिएको छ ।
मंगलवारको कारोबारमा सानो टुप्पी भएको हरियो मैनबत्ती बनेकाले भोलि (बुधवार) पनि बजार बढ्ने सम्भावना बलियो देखिन्छ । लामो समयदेखि माथि जान नसकेको बजारले अझै गति लिने विश्वास ब्रोकरहरूको छ । यस वर्ष कम्पनीहरूको वित्तीय अवस्था राम्रो हुने संकेत पाएका लगानीकर्ता आकर्षक लाभांश पाउने आशामा सस्तोमा शेयर खरीद गर्न सक्रिय हुने अनुमान ब्रोकरहरूले गरेका हुन् ।
मंगलवारको कारोबारमा २ हजार ६६३ दशमलव २४ विन्दुसम्म नेप्से पुगेको थियो भने २ हजार ६३२ दशमलव १९ विन्दुसम्म झरेको थियो । आज २१७ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ३१ कम्पनीका धितोपत्रको मूल्य घटेको छ ।
सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर मूल्य यो दिन ९ दशमलव ८७ प्रतिशत बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँ ७१ पैसाले बढेर अन्तिम मूल्य १ हजार ५२१ रुपैयाँ ८२ पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको प्रतिकित्ता ४२ रुपैयाँ २५ पैसाले बढेर अन्तिम मूल्य ४७० रुपैयाँ ३६ पैसा कायम भएको छ ।
यो दिन युनिलिभर नेपालको शेयर मूल्य सर्वाधिक २ दशमलव १३ प्रतिशत अर्थात् प्रतिकित्ता १ हजार रुपैयाँले घटेर अन्तिम मूल्य प्रतिकित्ता ४६ हजार रुपैयाँ कायम भएको छ ।
सोमवारको तुलनामा आज कारोबार रकम पनि बढेको छ । सोमवार ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४१ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आज ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको १ करोड ५७ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा यो दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक हिस्सा रहेको छ । यस कम्पनीको ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो कम्पनीको शेयर मूल्य भने ५ दशमलव ८९ प्रतिशत बढेर अन्तिम मूल्य २ हजार १५९ रुपैयाँ १ पैसा कायम भएको छ ।
आज बढेको बजारमा व्यापारिक समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । यो दिन लगानी समूहको परिसूचक २ दशमलव ३८ प्रतिशत बढेको छ । २ प्रतिशतभन्दा बढी परिसूचक बढ्नेमा यो दिन लघुवित्त समूह पनि रहेको छ । लघुवित्तको २ दशमलव २२ प्रतिशत परिसूचक बढेको हो ।
कुल बजार पूँजीकरण मंगलवार ४४ खर्ब ३२ अर्ब ६० करोड १६ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । सोमवारको तुलनामा ४८ अर्ब १७ करोड ८० लाख रुपैयाँले बढेर आज कुल बजार पूँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि कायम भएको हो । सोमवार भने कुल बजार पूँजीकरण ४३ खर्ब ८४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।