कैलास पर्वत र ब्रह्माण्डको अक्ष

कैलाश पर्वत । तस्वीर : रासस ।

Share News
  • किन कैलास पर्वतलाई ब्रह्माण्डको केन्द्र मानिन्छ ? कैलास पर्वत तिब्बतको एक भव्य हिमशृंखला, हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूद्वारा ‘ब्रह्माण्डको केन्द्र’ का रूपमा पूजा गरिन्छ । यो पर्वत पौराणिक मेरू पर्वतको प्रतीक हो र भगवान् शिव तथा अन्य दिव्य शक्तिहरूको निवासस्थल मानिन्छ । भक्तजन आध्यात्मिक रूपान्तरणको आशामा कैलास कोरा (परिक्रमा)को यात्रा गर्छन् र यस पर्वतको आरोहण निषेध गरिएको पवित्रतामा श्रद्धा प्रकट गर्छन् । 

हिन्दू र बौद्धधर्मको शास्त्रमा कैलास पर्वतलाई मेरू पर्वतसँग जोडिएको बताइन्छ, जसलाई ब्रह्माण्डको आध्यात्मिक र भौतिक केन्द्र भनिन्छ । प्राचीन ग्रन्थहरूमा मेरू पर्वतलाई स्वर्ग, पृथ्वी र अधोलोकको धुरीका रूपमा वर्णन गरिएको छ । यो पर्वतले दिव्य र सांसारिक लोकहरूलाई जोड्ने कार्य गर्छ, जसले ब्रह्माण्डको संरचना र सन्तुलनको प्रतीक प्रस्तुत गर्छ ।

कैलास पर्वतको अलग्गै स्थान, सुसंगत पिरामिड जस्तो आकृति र अप्रत्यक्ष सौन्दर्यले यसलाई मेरू पर्वतसँग प्रतीकात्मक रूपमा सम्बद्ध बनाउँछ । यो पर्वतलाई पृथ्वीमा रहेको मेरू पर्वतको मूर्तरूप मानिन्छ, जहाँ स्वर्ग र पृथ्वीको मिलन हुन्छ ।
 
देवताको पवित्र निवास

हिन्दूधर्ममा भगवान् शिवको शाश्वत निवासका रूपमा कैलासलाई मानिन्छ । शिव पार्वतीसँगै ध्यानस्थ छन् भन्ने विश्वास गरिन्छ । नन्दी, शिवको वाहन, पनि यहीँ छ । यो पर्वत समुद्रमन्थन, ताण्डव नृत्यलगायत अनेक पौराणिक कथासँग सम्बद्ध छ ।

तिब्बती बौद्धहरूले कैलासलाई चक्रसंवरको निवासस्थल मान्छन् जो परमानन्द र बोधीका प्रतीक हुन् ।

जैन धर्ममा कैलास पर्वतलाई पहिलो तीर्थंकर ऋषभनाथले मोक्ष प्राप्त गरेको स्थान मानिन्छ । तिब्बती बोन परम्परामा पनि यो पर्वत अत्यन्त पवित्र मानिन्छ र यसको आध्यात्मिक अभ्यासमा केन्द्रीय भूमिका हुन्छ । धार्मिक विविधता हुँदाहुँदै सबै धर्मका अनुयायीहरूले कैलासलाई पवित्र मान्नुले यसको अनुपम आध्यात्मिक महत्त्व दर्शाउँछ ।

जीवन र सभ्यताको केन्द्र : नदीहरूको उद्‌गमस्थल

कैलास पर्वत एशियाका चार प्रमुख नदीहरूको मूल स्रोत हो, जसले यसको केन्द्रीय भूमिका अझ बलियो बनाउँछ । सिन्धुनदी पश्चिमतर्फ बग्छ । सतलज नदी दक्षिणपश्चिमतर्फ बग्छ । ब्रह्मपुत्र नदी पूर्वतर्फ बग्छ । कर्णाली नदी दक्षिणतर्फ गङ्गाको सहायक नदी हो । 

यी नदीले भारत, नेपाल, तिब्बत र बङ्गलादेशसम्म लाखौं मानिसको जीवन धानिरहेका छन् । यसबाट कैलासको भूगोल मात्र होइन, जीवनको मूल स्रोतका रूपमा पनि महत्त्व स्थापित हुन्छ ।

कैलास कोरा र आत्मिक रूपान्तरण

वर्षेनि हजारौं श्रद्धालुले ५२ किलोमीटर लामो कैलास कोरा यात्रा गर्छन् । यो अत्यन्त पवित्र मानिएको यात्राले आत्मा शुद्ध पार्ने, पाप मोचन गर्ने र आध्यात्मिक उन्नति गराउने विश्वास गरिएको छ ।

उचाइ, चिसो र कठिन बाटोले गर्दा यो यात्रा शारीरिक रूपमा गाह्रो भए पनि भक्तिको गहिरो भावना र मुक्तिको आशाले यो यात्रालाई अद्वितीय बनाउँछ । कैलास पर्वत अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेको छैन र यसलाई धार्मिक विश्वासका कारण निषेध गरिएको छ । चिनियाँ सरकारले पनि पर्वतारोहण अनुमति नदिएर यसको पवित्रता जोगाइरहेको छ ।

रहस्यमयी घटनाहरू र प्रतीकात्मकता

केही भक्तले ध्यान वा प्रार्थनाको बेला पर्वतबाट ‘ॐ’ ध्वनि वा शिवको डमरुको तालजस्तो ध्वनि सुन्ने अनुभव गर्छन् । साँझको समयमा पर्वतको छायाँ पूर्ण स्वस्तिक आकारमा देखिन्छ, जुन हिन्दू र बौद्धधर्ममा शुभताको प्रतीक हो । केही हिउँका आकृतिहरू ‘ॐ’ को आकारमा देखिन्छन् भन्ने विश्वास छ । यी घटनालाई कैलासको दिव्य ऊर्जा र ब्रह्माण्डसँगको सम्बन्धका रूपमा लिइन्छ ।

पृथ्वी र स्वर्गबीचको सेतु

सबै परम्परामा कैलासलाई पृथ्वी र स्वर्गको बीचको सेतु अर्थात् समय र स्थान एकै बिन्दुमा जोडिने स्थान मानिन्छ । ध्यान, दिव्यता र आध्यात्मिक ऊर्जा प्राप्तिको केन्द्रका रूपमा यो पर्वत चिनिन्छ । यो ब्रह्माण्डीय धुरी, पवित्र निवासस्थल र आध्यात्मिक मुक्तिको प्रतीक हो जसले हजारौं भक्तजनलाई तानिरहन्छ । कुनै पनि हिमालजस्तै अग्लो भए तापनि यस पर्वतमा आरोहण निषेध गरिएको छ । पश्चिम तिब्बतको दुर्गम स्थानमा रहेको कैलास पुग्न गाह्रो छ । वरपरका क्षेत्रमा पुराना गुम्बा, तपोभूमि र धार्मिक स्थलहरू छन्, जसले यसको ऐतिहासिकता उजागर गर्छ । 

कैलास पर्वतलाई ‘ब्रह्माण्डको केन्द्र’ मान्नु भूगोल, पौराणिकता र आध्यात्मिकताको अद्वितीय संगमको परिणाम हो । यो केवल हिमाल होइन, यो ब्रह्माण्डको मुटु हो, जहाँ भूत, वर्तमान र भविष्य एक बिन्दुमा जोडिन्छन् । कैलासले आज पनि समय, स्थान र संस्कृतिभन्दा माथि उठेर श्रद्धा, भक्ति र शान्तिको प्रतीकका रूपमा सबैलाई निम्तो दिइरहेको छ ।

(टाइम्स अफ इन्डियाबाट) 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।