जापानको घट्दो जनसंख्या तीव्र रूपमा शहरतर्फ सर्न थालेपछि ग्रामीण क्षेत्रमा हरेक वर्ष करीब ४५० विद्यालय बन्द भइरहेका छन् । तर, तीमध्ये केही अहिले अनौठो शैलीका होटेलमा रूपान्तरण हुँदै छन् । बिहानीको घाम अग्ला झ्यालहरू हुँदै कक्षाकोठाभित्र पसेको छ, जहाँ पहिले विद्यार्थीहरूले कान्जी अक्षरहरू पढ्ने गर्थे । तर, अब ती चर्काचर्का बालबालिका होइन, गहिरो विश्राम र ग्रामीण जापानी संस्कृति अनुभव गर्न चाहने पर्यटकहरू तानिन्छन् ।
हरे तो के, सिकोको टापुको पहाडमा रहेको पूर्वप्राथमिक विद्यालय छ‚ जुन अहिले पाहुनाघरमा रूपान्तरण गरिएको छ । सिकोको जापानका चारवटा मुख्य टापुहरूमध्ये सबैभन्दा सानो हो । हरे तो के देआइ प्राथमिक विद्यालयमा सन् २००५ देखि विद्यार्थी संख्या घटेर केवल पाँच पुगेपछि बन्द भयो । एक स्थानीय पत्रिकाका अनुसार यो विद्यालयमा सन् १९४५ मा ५०० भन्दा बढी विद्यार्थीसहित सञ्चालनमा थियो । तर, अन्य धेरै ग्रामीण विद्यालयहरूजस्तै यो विद्यालय पनि विस्तारै खाली हुन थाल्यो किनकि परिवारहरू शहरतर्फ सर्न थाले ।
विद्यालय सन् २०१३ मा औपचारिक रूपमा निष्क्रिय घोषणा गरिनुअघि ८ वर्षसम्म बन्द अवस्थामा रह्यो ।
मियोशी शहरको जनसंख्या १९५५ मा ७७,७७९ थियो जुन अहिले २०,००० मा झरेको छ । यहाँ ४० प्रतिशतभन्दा बढी बासिन्दा ६५ वर्षभन्दा माथिका छन् । दोस्रो विश्वयुद्धपछिको आर्थिक विकासपछि उद्योगहरू धराशयी हुँदै गए, युवा वर्ग शहर सर्न थाले र ग्रामीण पूर्वाधारहरू खाली हुँदै गए । सन् २०१२ सम्म मियोशीमा २८ विद्यालयहरू प्रयोगविहीन अवस्थामा थिए, जसलाई पुनः प्रयोग गर्न स्थानीय अधिकारीहरूले प्रस्तावहरू माग्न थाले ।
त्यसैबेला टोकियोकी डिजाइनर शुको उमेमोटोले मियोशीमा नयाँ सम्भावना देखिन् । उनी सन् २०१४ मा आफ्नो दुईवर्षे छोरासहित मियोशी आइपुगिन् र त्यहाँको शान्त सौन्दर्यले मोहित भइन् । उनले बीबीसीलाई भनिन्, ‘यहाँको पानी र हावा एकदमै फरक छ । पहिलोपटक यहाँ बस्दा मेरो छोराको दमको लक्षण हरायो । त्यो पलले मलाई गहिरो प्रभाव पार्यो ।’ ‘मैले सोचेँ यदि मेरो बच्चा यति प्राकृतिक वातावरणमा हुर्कियो भने कस्तो फरक पर्ला ? त्यसैले मलाई यो योजनामा लाग्न प्रेरित गर्यो ।’ उनले मियोशीका केही खाली विद्यालयहरू अवलोकन गरिन् । जब उनी देआइ विद्यालयको शान्त आँगनमा पाइला टेकिन्, उनलाई त्यहाँ केही विशेष अनुभव भयो । उमेमोटो टोकियोबाट मियोशी सरेर तीनवर्षे विस्तृत व्यवसाय योजना तयार गरिन् र स्थानीय सरकार तथा समुदायको सहयोगमा हरे तो के सञ्चालनमा ल्याइन् ।
मियोशीको क्षेत्रीय पुनर्जीवन डिभिजनकी अधिकारी युको ओका भन्छिन्, ‘विद्यालय स्थानीयका लागि एक ऐतिहासिक चिह्न थियो । तर, त्यो अँध्यारोमा थन्किएको थियो । अहिले त्यहाँ पुनः बत्ती बलेको छ र समुदायसँगको भावनात्मक सम्बन्ध फर्किएको छ । बाहिरबाट मानिसहरू आकर्षित हुनु र यहाँ रमाउनु समुदायको आत्मविश्वास फर्किएको प्रमाण हो ।’ आज मियोशीका १३ वटा विद्यालयहरू क्याफे, अफिस र पाहुनाघरमा रूपान्तरण भइसकेका छन् । तर, के यसले जापानको गाउँ क्षेत्रमा फैलिँदै गएको मौन संकटलाई टार्न सक्ला ?
देशको जनसंख्या तीव्र रूपमा बुढिँदै गएको छ, जन्मदर विश्वमै सबैभन्दा कम छ र जापानले हरेक वर्ष करिब ९ लाख बासिन्दा गुमाइरहेको छ । केही अध्ययनअनुसार जापानका ४० प्रतिशतभन्दा बढी नगरपालिकाहरू एक दिन लोप हुने खतरा छ । गाउँबाट शहरतर्फको पलायनका कारण हरेक वर्ष करीब ४५० विद्यालय बन्द भइरहेका छन् ।
यी विद्यालयहरूलाई पुनः प्रयोग गरी जापानको ग्रामीण क्षेत्र पुनर्जीवन दिन सकिन्छ भन्ने धारणा बलियो हुँदै गएको छ । हरे तो के पाहुनाहरूलाई केवल एक कक्षाकोठामा सुताउने ठाउँमात्र होइन, बरु प्रकृति र आफूभित्रको शान्तिसँग पुनः जोडिने अवसर हो । होटेलको नाम पनि पुरानो जापानी समय अवधारणाबाट प्रेरित छ । हरे तो केले पाहुनाहरूलाई त्यो पुरानो ‘के’ समय फेरि अनुभव गराउने प्रयास गर्छ ।
पाहुनाहरूलाई ताजा कफीको सुवासले स्वागत गरिन्छ, हर्बल चिया पिउँदै रूखहरू सुसाउने आवाजमा सुत्न सकिन्छ र बिहान चिसो पहाडी हावासँग ब्युँझिन सकिन्छ । होटेलले सुत्ने अनुभवलाई अझै राम्रो बनाउन नयाँ ‘स्लीप प्रोग्राम’ पनि शुरू गरेको छ । पाहुनाहरूको निद्रा बिगार्ने कारणबारे जानकारी लिएर त्यसअनुसार औषधीय हर्बल चिया प्रदान गरिन्छ । अरोमाथेरेपी र प्राकृतिक आवाज–सुगन्धमार्फत पाँच इन्द्रियमार्फत शान्त निद्राका लागि वातावरण तयार गरिन्छ ।
उमेमोटो भन्छिन्, ‘शहरमा सुत्न गाह्रो हुन्छ । तर यहाँ एक रात पनि गहिरो निद्रामा सुत्न सकियो भने पूरै यात्रा रूपान्तरण हुन्छ ।’ मियोशीका पर्यटन अधिकारी कोजी कामिजासा भन्छन्, ‘हरे तो के केवल पाहुनाघर होइन, यो ग्रामीण जापानको भविष्य फिर्ता ल्याउने एउटा कथा हो ।’ हरे तो के मा स्थानीय बासिन्दाहरूले पाहुनाहरूलाई स्थानीय खाना बनाउने वर्कशप चलाउँछन् । हरेक दोस्रो आइतवार मियोशीमा रात्रि बजार हुन्छ, जहाँ पाहुनाहरूलाई परम्परागत नाच आवा ओडोरी पनि सिकाइन्छ । समुदायका लागि हरे तो के केवल पाहुनाघर होइन । यो स्मृतिहरू फर्काउने र नयाँ बनाउने स्थान हो । उमेमोटो सम्झिन्छिन्, ‘एक दिन ८० वर्षकी एक वृद्ध आमा आफ्नी भान्जीसँग आइन् । उनले पुरानो ग्य्राजुएशन एल्बम हेर्दै भनिन्, ‘यो म हो ‚’ उनी निकै खुशी थिइन् ।’
(बीबीसीबाट)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।