काठमाडौं । नेपाल-चीन व्यापारिक नाका तातोपानी हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ ।
माउन्टेन हेलिकोप्टर प्रालिले चीनको शानक्सी प्रदेशको तेयुआन सहरस्थित शान्सी होउथुफाङ टेक्नोलोजी कम्पनीले ल्याएको एएस-३५० बीथ्रीई मोडलको एयरबसको हेलिकप्टर भित्र्याएको हो ।
उक्त हेलिकप्टरलाई चीनबाट सामान ढुवानी गर्ने आडो ट्रान्सपोर्ट कम्पनीले टेलरमा राखेर तातोपानी नाकासम्म ल्याएको हो ।
माउन्टेन हेलिकप्टर प्रालिका प्रवक्ता रामचन्द्र भुसालले उडान अनुमतिको समस्याले हेलिकप्टरलाई टेलरमा राखेर ल्याइएको जानकारी दिए । कम्पनीले हेलिकप्टरको मूल्य भने खुलाउन चाहेन ।
हेलिकप्टरलाई अहिले भन्सार यार्डमा राखिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर आयात भएको बताए । हेलिकप्टरको भन्सार प्रक्रिया एक–दुई दिनभित्र पूरा हुने उनले जानकारी दिए ।
चीनबाट हेलिकप्टर खरीद गरेसँगै अब कम्पनीसँग हेलिकप्टरको संख्या ३ पुगेको छ । कम्पनीका प्रवक्ता भुसालले ६ महीनामा थप एक हेलिकप्टर भित्र्याउने कम्पनीको योजना रहेको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।