असार २७ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गर्दै स्वस्तिक लघुवित्त

Share News

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । त्यसमध्ये २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो । 

यसबाहेक १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आउनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने शेयर खरीदका लागि साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन पेश गर्न सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर बी रेटिङ्ग प्रदान गरेको छ । 

अधिकृत पूँजी ६ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ छ । आईपीओपछि कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । 

गत आर्थिक वर्ष ०८०/८१ सम्म २ करोड ४८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ७८ पैसा  छ भने ३ रुपैयाँ ९८ पैसा प्रतिशेयर नोक्सानीमा कम्पनी छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।