काठमाडौं । आज (बिहीवार) नेप्से परिसूचक २ हजार ७०३ विन्दुमा पुगेर बन्द भएको छ ।
आज अघिल्लो दिनभन्दा नेप्से ९ दशमलव १४ अंकले बढेको हो । यो दिन २ हजार ७१६ दशमलव ९३ विन्दुमा पुगेको नेप्से २ हजार ६८५ दशमलव ७७ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार बढेर बन्द भएको हो ।
आज १२२ कम्पनीको धितोपत्र मूल्य बढ्दा १२५ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ ।
बिहीवारको कारोबारमा नेपाल फाइनान्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत घटेको छ । यस्तै, गुराँस लघुवित्तको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत घटेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ २५ पैसाले घटेर अन्तिम मूल्य १ हजार १०० रुपैयाँ कायम भएको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता २४९ रुपैयाँ ८८ पैसाले घटेर अन्तिम मूल्य २ हजार २६० रुपैयाँ २९ पैसा कायम भएको छ ।
सर्वाधिक शेयर मूल्य बढेको नेपाल फाइनान्सको शेयर मूल्य भने प्रतिकित्ता ६३ रुपैयाँ २ पैसाले बढेर अन्तिम मूल्य ६९४ रुपैयाँ २० पैसा कायम भएको हो ।
पछिल्लो साता बजार निरन्तर बढेर लगानीकर्तामा थप उत्साह कायम भएको छ । बिहीवारको कारोबारमा डोजी आकृतिको मैनबत्ती बनेको छ । यस आकृतिले भने आगामी दिनमा बजार कुन गतिमा अघि बढ्छ भन्नेमा अन्योल रहेको संकेत गर्छ ।
आज कारोबार रकम भने थोरै घटेको छ । बुधवार ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको ३ करोड १ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको २ करोड ४९ लाख ७६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा सर्वाधिक हिस्सा बुटवल पावर कम्पनीले ओगटेको छ । यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ३ लाख ९४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य भने २ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ७९८ रुपैयाँ ९ पैसा कायम भएको छ ।
बिहीवार वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । परिसूचकमा आएको वृद्धिलाई हेर्दा वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो ।
आज वित्त समूहको परिसूचक ४ दशमलव शून्य ९ प्रतिशत बढेको छ । व्यापारिक समूहको परिसूचक भने सर्वाधिक १ दशमलव २९ प्रतिशत घटेको छ ।
आज कुल बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब १९ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । बुधवार कुल बजार पूँजीकरण ४४ खर्ब ८९ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ थियो । आज कुल बजार पूँजीकरण १५ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।