दुई प्रसारण लाइन निर्माणमा निजीक्षेत्र सहभागी गराउने प्रयास : ‘निजीक्षेत्रका कम्पनीहरूसँगको सम्झौता अन्तिम चरणमा’

सांकेतिक तस्वीर

Share News

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने प्रयास अन्तिम चरणमा पुगेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका एक उच्च अधिकारीले बताएका छन् । 

ग्रीड कम्पनीले गत पुसमा सार्वजनिक सूचना जारी गरी सार्वजनिक–निजी लगानीमार्फत यी दुई प्रसारण लाइन निर्माण गर्न आवेदन मागेको थियो । परियोजना निर्माणका लागि ६ कम्पनीले गत फागुनमै आवेदन पेश गरे पनि अहिलेसम्म उनीहरूसँग सम्झौता हुन सकेको छैन । सरकारी स्वामित्वको ग्रीड कम्पनीले निजी कम्पनीहरूसँग सम्झौता गरी संयुक्त रूपमा यी प्रसारण लाइन बनाउने प्रयास गरेको हो ।

‘कुन कम्पनीले केकति शेयर राख्ने, कसरी अघि बढ्ने, अन्य कम्पनीहरू पनि समावेश गर्ने कि जस्ता विषयमा छलफल टुंग्याउन समय लागेकाले सम्झौता गर्न केही ढिलाइ भएको हो,’ ग्रीड कम्पनीका सचिव राजेश पोखरेलले आर्थिक अभियानसँग भने । ‘अब भने अन्तिम चरणको तयारी भएकाले आगामी महीनासम्म सम्झौतामा हस्ताक्षर गर्ने योजना छ ।’

हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइन निर्माणका लागि चार र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि दुई निजी कम्पनीले आवेदन दिइसकेका छन् । हाइटार–शीतलपाटी प्रसारण लाइन निर्माणका लागि ह्वाइट फ्लावर इनर्जी कम्पनी प्रालिको ४० दशमलव ७ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजना, अपिक इनर्जी प्रालिको १२५ मेगावाट क्षमताको तल्लो बरुण खोला जलविद्युत् आयोजना, समिट इनर्जी सोलुशन प्रालिको ४४ मेगावाट क्षमताको बकान खोला जलविद्युत् आयोजना र सांग्रिला ऊर्जा लिमिटेड अन्तर्गतको ६३ मेगावाट क्षमताको छुजुङखोला जलविद्युत् आयोजनाले आवेदन दिएका हुन् ।

त्यसैगरी, लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि नासा कम्पनी लिमिटेडअन्तर्गतको १६० मेगावाट क्षमताको ल्याप्चेखाला जलविद्युत् आयोजना र सानिमा हाइड्रोपावरअन्तर्गतको जुमखोला जलविद्युत् आयोजनाले आवेदन दिइसकेको पोख्रेलले बताए ।

कम्पनीका अनुसार हाइटार–शीतलपाटी प्रसारण लाइन निर्माण गर्न करीब ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो प्रसारण लाइन माथिल्लो अरूण नदी र सहायक नदी कोरिडोरमा अवस्थित जलविद्युत् आयोजनाहरूका लागि साझा प्रसारण लाइनका रूपमा निर्माण हुने बताइएको छ । लामाबगर–बाह्रबीसेको कुल लागत रकम झन्डै ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।