- अरू देशमा नेताहरू रिटायर्ड भएपछि घरै बस्छन् । धेरै गरे भने कलेज पढाउँछन् वा सामाजिक सेवामा तल्लीन हुन्छन् । तर हाम्रा त जति बुढो भए पनि चिउँडोले टेकेर हुन्छ कि लठ्ठीले जनताका सेवाका खातिर अहोरात्र खटिरहिन्छन् । यिनलाई न थकाईको पर्वाह छ, न उमेरको । अस्पतालको बेडमा बस्दादेखि ब्रह्मनालको शय्यामा खस्दासम्म ।
हामी साँच्चै भाग्यमानी छौं– यो धर्तीमा यस्ता महान् नेताहरू पाउनु, जो जन्मजात सेवाभावी, पदमा रहँदा अझै सेवाभावी र पदबाट अवकाश पाएपछि त अत्यधिक सेवाभावी । यिनको जीवनमा व्यक्तिगत केही छैन, सबै जनताका लागि मात्र हो । लुगा आफूलाई हो, तर किनिन्छ जनताको प्रतिनिधित्वका लागि । गाडीमा आफू बसिन्छ, तर यात्रा जनताको पीडा कम गर्नका खातिर । यिनले बुझेका छन्, सेवा हि परमो धर्मः । त्यही भएर सेवाका लागि मेवा, ढेवा सब त्यागेर पद, प्रतिष्ठालाई लात हानेर दलको राजनीतिमा जोडिएका छन् ।
उनीहरूका हृदयमा जनताका लागि अगाध प्रेम, समर्पण र सपना जनताकै लागि मात्र बाँकी छ । जनताको सेवा गर्न नपाए यिनीहरूलाई एक छिन पनि चैन हुँदैन, भलै ऐनमा जे सुकै लेखेको होस् । त्यसैले हेर्नुस् त पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भएर राष्ट्रको सर्वोच्च पदमा पुगेका पूर्वनेताहरू पनि फेरि दलका राजनीतिमा फर्कने सुखद निर्णय गरेछन् ।
प्रायः अरू देशमा नेताहरू रिटायर्ड भएपछि घरै बस्छन् । धेरै गरे भने कलेज पढाउँछन् वा सामाजिक सेवामा तल्लीन हुन्छन् । तर हाम्रा त जति बुढो भए पनि चिउँडोले टेकेर हुन्छ कि लठ्ठीले जनताका सेवाका खातिर अहोरात्र खटिरहिन्छन् । यिनलाई न थकाईको पर्वाह छ, न उमेरको । अस्पतालको बेडमा बस्दादेखि ब्रह्मनालको शय्यामा खस्दासम्म । अन्तिम इच्छा के छ भनेर सोध्यो भने नेताहरूको एउटै उत्तर हुन्छ– जनताको सेवा गर्ने । बुढाहरूलाई घरमै बस टेन्सन नगर भनेर सरकारले वृद्धभत्ता, पेन्सन दिने गरेको छ । तर बिचरा नेताहरू भने घरमा बस्नै सक्दैनन्, जनताको सेवा गर्ने उर्लंदो चाहनाले गर्दा । त्यसैले उमेरहद बढाउँदै पटके हटाउँदै जति चोटि भए पनि अध्यक्ष हुने र जनताको सेवा गर्ने भन्छन् । नाति नातिना खेलाएर घर बस्ने बेलामा पनि जनताको सेवा गर्न कस्तो हुटहुटी र छटपटि होला, हेर्नुस् त ।
मलाई लाग्छ– यस्ता नेताहरूको त्यागको गहिराइ बुझ्न सक्ने सामर्थ्य साधारण नेपाली जनताको छैन । त्यसैले जे कुरामा पनि विरोध मात्र गरिरहन्छन् । किनभने नेताका सेवाभाव यति गहिरो छ, त्यो सतहबाट हेरेर देखिँदैन । किनकि नेताहरूमा रहेका सेवा अवतारको विराट स्वरूपका बारेमा जनतालाई छेउ टुप्पो नि थाहा छैन ।
शितल निवासबाट बाहिर आएपछि जनताको दुःख देखेरै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको मन पनि कत्ति भावुक भयो होला ? त्यसैले जनताको कष्टले उहाँको हृदय फेरि काँप्यो रे भन्ने कुरा बाहिर चुहिएको छ । राष्ट्रपतिको कुर्सीमा हुँदा नदेखिएको जनताको पीडा, अवकाश पाएको केही महीनामै अद्भूत दिव्यदृष्टिले देख्न थाल्नु अलौकिक नै भयो । बुद्धले नि दरबार छोडेपछि मात्रै बुद्धत्व प्राप्त गरेका थिए । त्यसैले उहाँले पनि शितल निवास दरबार छोडेर एमालेमा फर्केर देश सम्हाल्ने नयाँ सपना देख्नुभयो । जनताको सेवा गर्न नपाउँदा नाम शितल भए पनि त्यो दरबारभित्र उहाँको मन कति भतभत पोलेको थियो होला । त्यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले पनि त्यही भावका साथ सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएको छ । यो हाम्रा लागि कम्ता खुसीको कुरा हो ?
हुन पनि राष्ट्रपति, उपराष्ट्रपति हुँदा उहाँहरूले सबैतिर सुख र समृद्धि मात्र देख्नुभयो । किनकि चारैतिर सुरक्षाको घेरा, साइरन बजाउँदै जनतालाई घण्टौं जाममा बस्न बाध्य पारेर हिँड्नु पर्दा जनताको दुःख देख्न सक्ने कुरा पनि भएन । कुर्सीबाट जनताको धरातलमा आएपछि पो उहाँहरूलाई जनताको वास्तविकता थाहा भयो । यस्ता कुरा एैलेका जेन जी पुस्ताले कसरी बुझ्न सक्छन् र ?
एकपछि अर्को सरकार परिवर्तन हुनु हाम्रो राजनीतिक परम्पराको हिस्सा हो । हरेक ९–१० महीनामा नेपाली जनताले आफ्नो स्वाद फेर्दै एक नयाँ स्वादको सरकार पाउँछन् । के तपाईं सोच्नुहुन्न कि यो लगातारको सरकार परिवर्तन हामीलाई संसारकै सबभन्दा परिवर्तनशील देश बनाउँदै छ भनेर ? सरकार छिटो छिटो फेरिनु भनेको जनताले फरक फरक सरकारको स्वाद पाउनु हो । यही त हो लोकतन्त्र । एउटै व्यक्ति सधैं उही कुर्सीमा रहे त भइहाल्छ नि पुटिनतन्त्र ।
तर देशमा नयाँ नेताहरू आए, सरकार नयाँ नयाँ आए भन्दैमा हाम्रा पुराना नेताहरूको योगदानलाई चटक्कै बिर्सन कसरी सकिन्छ र ? साँच्चै भन्ने हो भने पुराना नेताहरूले जनताका खातिर गरेको कामको हिसाबकिताब राख्नका लागि त इतिहासकार नै चाहिन्छ । तर, जनताले यो महान् कुरा बुझ्नै सकेनन् । विश्वास छ कि एक दिन जनताले नेपाली नेताका कुरा पक्कै बुझ्नेछन् ।
त्यसैले हामीलाई थाहा छ– पुराना नेताहरू पदमा नफर्केसम्म देश फेरिँदैन । र नेताहरू फर्किरहेकै छन्, हरेक ५ वर्षमा होइन, आवश्यक परे हरेक हप्तामा, हरेक मौकामा । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेका पूर्व नेताहरू पुनः सक्रिय राजनीतिमा फर्कनु भनेको नेपाली जनताका सुखका दिन फर्कने लक्षण हुन् ।
त्यसैले भन्न सकिन्छ कि नेपाली राजनीति साँच्चिकै महान् छ । यहाँका नेताहरू सन्त, ज्ञानी र महात्मा हुन्, जो सधैं जनताको हितमा मात्र काम गर्छन्, चाहे जे सुकै त्याग गर्न किन नपरोस् । अब, प्रधानन्यायाधीश, मुख्य सचिवहरूले पनि जनताको सेवाका लागि अवकाश पाएपछि खरदार सुब्बाबाट जागीर शुरू गर्न थालून् । आईजीपीहरूले पनि हलदार हुँदै हल्लिन पाऊन् । प्रधानसेनापतिहरू प्युठबाट जागीर शुरू गरून् । अनि पो राष्ट्र सेवक पनि जनताका सेवक बन्ने मौका पाउँछन् ।
जनताका यस्ता परम सेवक महान् नेताहरू पाउने हामी धेरै नै भाग्यमानी हैन त ?
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।