काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि ऋणपत्र निष्कासन गर्न लागेको छ ।
कम्पनीले ७ दशमलव २५ प्रतिशत ब्याजदर रहेको १० वर्षे अवधिका लागि ‘एसबिएल डिबेञ्चर २०९१’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र कम्पनीले निष्कासन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा विक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यी ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।
निष्कासन मिति छिटोमा असार ३२ गते तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन ११ गतेसम्म निष्कासन लम्बिनेछ ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
कम्पनीको ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर ट्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
यो ऋणपत्र खरीद गर्ने लगानीकर्ताले तोकिएको आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।