यू-१६ एसीसी इष्ट जोन कप : सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो उपाधि

Share News

काठमाडौँ । प्रतियोगितामा अपराजित रहेको नेपालले आज एसीसी यू-१६ इष्ट जोन कप क्रिकेट उपाधि जितेको छ । मलेशियाको वाईएसडी यूकेएम ओभलमा भएको फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपाल एसीसी इष्ट जोन कपको साविक विजेता हो ।

सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै जितका लागि दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै उपाधि जित्यो ।

जोय थापाले अविजित रहँदै बनाएको २४ रन र अभय यादव पनि अविजित रहँदै १० रन बनाएर नेपाललाई जिताए । नेपालका लागि शिवान्स बजगाईंले २० रन, शुभम् खनालले १८ रन र प्रशिद्ध जैशीले १७ रन बनाए ।

सामान्य लक्ष्य पछ्याएको नेपालले कुल स्कोर १३ रनमै पहिलो विकेट गुमायो । शिवान्स बजगाईंले एक छक्का र २ चौका हान्दै २० रन बनाए । नेपालको कुल स्कोर ४० रन हुँदा लगातार २ जना खेलाडी आउट भएपछि टोली केही दबाबमा पर्यो । यसपछि फेरि नेपालले ५८ रनको कुल स्कोरमा २ विकेट गुमायो । 

छैटौं विकेटका लागि जोय थापा र सुभम् खनालले महत्त्वपूर्ण ३३ रनको साझेदारी गरे । कुल स्कोर ९१ रनमा नेपालको छैटौं विकेट खस्यो भने कुल स्कोर ९२ रन हुँदा नेपालका सातौं र आठौं विकेट खसे ।

सिंगापुरका लागि कपिस वेंकटरमनले ४ विकेट र युवान पाण्डेले २ विकेट लिए भने भेदान्स गुप्ता र आकाश तेजाले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अल आउट हुँदै ११३ रनमात्र बनाउन सफल भयो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५ रन, दान्स गुप्ताले १२ रन र आकाश तेजाले १० रन बनाउनुबाहेक उसका बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले ३/३ विकेट लिए भने शुभम् खनालले २ विकेट लिए । कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।