वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महीनामा वीरगञ्ज नाका हुँदै रु ५२ अर्ब ५८ करोड मूल्यको भटमासको कच्चा तेल आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोडभन्दा बढीले आयात भएको छ । गत आवको ११ महिनामा भने रु ७ अर्ब ३७ करोड बराबरको भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए । “व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ‚” उनले भने ।
वीरगञ्ज नाका हुँदै चालू आवको ११ महीनामा भटमासको प्रशोधित तेल निर्यात भने रु ५५ अर्ब ३ करोड बराबरको २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर निर्यात भएको छ । गत आवको सोही अवधिमा रु ८ करोड ८३ लाख बराबरको भटमासको प्रशोधित तेल ४ लाख ६४ हजार १३८ लिटर मात्र निर्यात भएको थियो ।
चालू आवको ११ महीनामा वीरगञ्ज भन्सार नाकाबाट रु ९ अर्ब ७५ करोड बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको सोही अवधिमा रु ८ अर्ब ४ करोड बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको थियो ।
वीरगञ्ज भन्सार नाकाबाट चालू आवमा सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि ह्वात्तै बढेको छ । यो भन्सार नाकाबाट चालू आवको ११ महीनामा रु ८ अर्ब ४० करोड बराबरको ३ करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको ११ महीनामा रु ९ करोड ९४ लाख बराबरको ५ लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।