ललितपुर । स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैंसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (ईभी) वितरण गरिएको छ । ‘तपाईंको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष 'फ्री अफर' पनि प्रदान गरिएको छ ।
अवकाशप्राप्त मेजर जनरल सुरेशकुमार कार्की, अवकाशप्राप्त एआईजी जनक भट्टराई, इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । आजको कार्यक्रममा सहभागी राइडरहरूलाई आजको दिन भाडा नलाग्ने विशेष फ्री अफर दिइएको हो । इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने‚ "आज हामीले पहिलो चरणमा इच्छुक र योग्य राइडरहरूलाई ईभी स्कुटर वितरण गरिसकेका छौं । उनीहरूलाई शुरुआतका लागि फ्री अफर प्रदान गरिएको छ, जसले उनीहरूलाई रोजगारी शुरु गर्न सहज बनाउनेछ ।"
उनीहरूले ईभी स्कुटर प्राप्त गर्दै शुरुआतमै खर्च बिना काम गर्न पाउने अवसर पाएका छन् । इ-ड्राइभ नेपालका मुख्य कार्यकारी अधिकृत सबिन भट्टराईले भने‚ "राइडरले आजबाटै स्कुटर चलाएर आम्दानी गर्न सक्छन् । फ्री अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गरेको छ ।"
यो योजनाले विदेशबाट आयात हुने इन्धनको खर्च घटाउने, नेपालमै उत्पादित विद्युत् उपयोग बढाउने र स्वदेशी प्रविधिको प्रवर्द्धनमार्फत हरित यातायात प्रणालीको विकासमा महत्त्वपूर्ण कदम हुने विश्वास आयोजक संस्थाहरूको छ । ‘तपाईंको बजार’ का सञ्चालक सुशील सङ्ग्रौलाले भने‚ "ईभी वितरणको यो क्षण हाम्रा लागि गौरवको हो । यो केवल साधनको वितरण होइन, यो नेपाली युवाको भविष्यमा गरिएको लगानी हो ।"
कार्यक्रममा सहभागी राइडर दिपक थापाले आफ्ना अनुभव सुनाए । उनले भने‚ "म पहिले सेकेन्डहेन्ड स्कुटर चलाउँथें, मर्मतमा धेरै खर्च हुन्थ्यो । अहिले यो योजनामार्फत नयाँ ईभी स्कुटर पाएँ। आत्मविश्वास बढेको र अब आम्दानी पनि बढ्ने विश्वास छ ।"
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।