इ–सेवालाई ‘बेस्ट म्यानेज्ड आईटी कम्पनी’ अवार्ड

Share News

इ–सेवा ‘बेष्ट म्यानेज्ड आइटी कम्पनी’ अवार्डबाट सम्मानित भएको छ । ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’बाट उक्त कम्पनीले सो अवार्ड हासिल गरेको हो । 

नेपालकै पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक हो, इ–सेवा । सन् २००९ देखि नेपालमा सेवा शुरु गरेको यो कम्पनीले आफूलाई दक्षिण एशियाकै पहिलो अनलाइन भुक्तानी प्रणाली भएको दाबी गर्छ । यो नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक पनि हो ।

इ–सेवा एफवान सफ्टअन्तर्गतको सहायक कम्पनीको रूपमा सञ्चालनमा छ । २०८१ असार मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार यसको चुक्तापूँजी ३८ करोड रुपैयाँ पुगेको छ । 
 
इ–सेवाका हाल देशभर ५० लाखभन्दा बढी प्रयोगकर्ता छन् भने ३ हजार ५ सयभन्दा बढी व्यापारिक साझेदार छन् । उनीहरू यही प्लेटफर्ममा जोडिएका छन् । कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार इ–सेवामा हाल ४५० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् ।

दैनिक लाखौं भुक्तानी कारोबारहरू सहज बनाउँदै आएको इ–सेवाले डिजिटल कारोबारमा अग्रणी पहिचान बनाइसकेको छ । बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कारोबारलाई सहज बनाउँदै सरकारी सेवा शुल्कदेखि मोबाइल रिचार्ज, बिल तिर्ने सुविधा, अनलाइन किनमेल जस्ता सेवाले यसको पहुँच झनै व्यापक बनाएको छ ।

बजारमा लामो इतिहास बनाइसकेको इ–सेवाको यात्रा अहिले नेपाली डिजिटल अर्थतन्त्रमा एक महत्त्वपूर्ण माइलस्टोनका रूपमा स्थापित भइसकेको छ । सरकारी राजस्वमा समेत उल्लेखनीय योगदान दिँदै आएको इ–सेवाले भविष्यमा पनि सेवा विस्तार र नवप्रवर्तनमार्फत डिजिटल वित्तीय पहुँचलाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।