आन्तरिक वायुसेवाको दायित्व तथा बीमासम्बन्धी विधेयकको मस्यौदा : हवाई दुर्घटनामा मृत्यु हुँदा लाख अमेरिकी डलर क्षतिपूर्ति प्रस्ताव

फाइल तस्वीर ।

Share News
  • हाल ज्यान गुमाउँदा पाउने क्षतिपूर्ति २० हजार डलर मात्र 
  • ब्यागेजमा हानि, नोक्सानी भए त्यसको दायित्व वायुसेवाकै हुने र क्षतिपूर्ति अमेरिकी डलर ५ हजारसम्म 
  • विभिन्न ३ ओटा अवस्थामा दायित्व बेहोर्न वायुसेवा बाध्य हुन नपर्ने
  • विमानको तौलका आधारमा २ करोड ५० लाखदेखि ६ करोड अमेरिकी डलरसम्म तेस्रो पक्ष बीमा गर्नुपर्ने

काठमाडौं । आन्तरिक वायुसेवा प्रदायक कम्पनीले विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारलाई १ लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने गरी सरकारले विधेयक तयार गरेको छ । प्रस्तावित ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ ले अधिकतम उक्त सीमामा रहेर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको हो । अहिले हवाई दुर्घटनामा मृत्यु भएमा एक यात्रु बराबर निकट आफन्तले २० हजार अमेरिकी डलर मात्र पाउँछन् । 

सरकारले अन्तरराष्ट्रिय उडानमा वायुसेवाको दायित्वसँग सम्बन्धित नियम रहेको मन्ट्रियल सन्धि १९९९ अनुसार आन्तरिक उडान गर्ने वायुसेवालाई सन्धिको दायरामा ल्याउन यो प्रयास गरेको हो । नेपालले यो सन्धि सन् २०१८ को डिसेम्बरमा अनुमोदन गरेको हो । 

लामो समयदेखि हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले १ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउनुपर्ने विषय उठिरहेका बेला अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त विधेयक सार्वजनिक गरेर सुझाव मागेको छ । दुर्घटनामा निधन नभएका तर चोटपटक, अंगभंग भएकाको हकमा भने अवस्था हेरी क्षतिपूर्तिबापत पीडितलाई अधिकतम १ लाख अमेरिकी डलर दिनुपर्ने प्रस्ताव गरिएको छ ।

                      null

उक्त विधेयकमा हवाई दुर्घटनामा यात्रुको निधन, ब्यागेजमा हुने हानि–नोक्सानी, कार्गो ढुवानीमा हुने समस्याका साथै तेस्रो पक्षलाई हुने हानि–नोक्सानीका विषयमा पनि बीमा गर्नेदेखि वायुसेवा कम्पनीको दायित्वको सीमासमेत तोकिदिएको छ । हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई दिने बढी क्षतिपूर्ति लागू गराउने विषयमा सरोकारवाला पनि सकारात्मक देखिन्छन् । यद्यपि बीमाको प्रिमियमका आधारमा टिकट वा अन्य आवश्यक दरमा भने सामान्य प्रभाव पर्न सक्ने पनि उनीहरूको आँकलन छ । 

मन्त्रालय आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति अन्तरराष्ट्रिय मापदण्डअनुरूप बनाउने तयारीअनुसार कानून बनाएर लागू गर्ने तयारीमा छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण लामिछानेले सबैखाले विमान (आन्तरिक र अन्तरराष्ट्रिय) लाई समान खाले क्षतिपूर्तिको व्यवस्था गर्न लागिएको जानकारी दिए । हवाई दुर्घटनाबाट ज्यान गुमाउनेका परिवारले पाउने र अंगभंग हुने पीडितले पाउने क्षतिपूर्तिलाई मन्ट्रियल सन्धिमा उल्लेख गरिएअनुसार अन्तरराष्ट्रिय मापदण्डअनुरूप बनाउने उनको भनाइ छ । ‘अब हवाई यात्रुको बीमा आन्तरिकको पनि अन्तरराष्ट्रिय स्तरको बनाउने हो,’ उनले भने । ‘अब मस्यौदा तथा मन्त्रालयको नीतिले मार्गदर्शन गरेको छ, त्यहीअनुसारको कानून बनाइनेछ ।’

अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाउने प्रयासस्वरुप क्षतिपूर्ति २० हजार अमेरिकी डलरलाई १ लाख पुर्याउने प्रस्ताव गरिएको उनको भनाइ छ । सरोकारवालाले सकारात्मक नै कुरा गरिरहेको भन्दै उनले थपे, ‘दुर्घटना भयो भने एयरलाइन्स कम्पनीले बीमा कम्पनीसँगको समन्वयमा क्षतिपूर्ति दिने गरेका छन् । अर्कोतर्फ क्षतिपूर्ति बढ्दैमा यसले टिकट वा अन्य पक्षमा ठूलो प्रभाव वा असर गर्छ भन्ने हुँदैन ।’

तर, हवाई सेवा सञ्चालक भने यसले बीमाको प्रिमियम केही बढ्न सक्ने बताउँछन् । प्रिमियम उच्च तिर्नुपर्दा हवाई भाडा केही माथि जान सक्ने उनीहरुको भनाइ छ । 

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धर क्षतिपूर्ति बढ्दैमा हवाई टिकट वा अन्य दर बढ्छ नै भन्ने नभए पनि बीमा प्रिमियमका आधार हवाई भाडा केही बढ्न सक्ने बताउँछन् । अहिले हवाई दुर्घटनामा ज्यान गुमाउनेको बीमा बढाउने भन्ने प्रस्ताव गरिएको भए पनि मन्ट्रियल सन्धिअनुसार यो बीमा लागू गर्नैपर्ने अवस्थामा नेपाल रहेको उनको भनाइ छ । ‘प्रस्तावित बीमा लागू हुँदा केही दरमा फरक पर्न सक्ने हुन सक्छ । प्रिमियम बढेपछि केही प्रभाव परे पनि धेरै पर्दैन,’ उनले भने । 

विधेयक संसद्‌बाट पारित भई कानून नबनेसम्म २० हजार अमेरिकी डलर क्षतिपूर्ति नै लागू हुनेछ । आन्तरिक वायुसेवा सञ्चालनका क्रममा हुन सक्ने विलम्ब, यात्रा स्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अंगभंग वा मुत्यु तथा वायुयानबाट हुने ढिलाइ, मालसामान ओसारपसारको क्रममा हुने क्षति र आन्तरिक वायुसेवाको दायित्व तथा बीमासम्बन्धी उचित व्यवस्था गरी हवाई यात्रुको अधिकार सुनिश्चित गर्न एकीकृत विधेयक ल्याइएको मन्त्रालयको भनाइ छ ।

प्रस्तावित विधेयकको मस्यौदामा भनिको छ, ‘वायुयानभित्र प्रवेश गर्ने क्रममा वा वायुयानभित्र रहँदा वा वायुयानबाट उत्रने क्रममा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा सम्बन्धित वायुसेवाले घटनाबाट पीडितलाई क्षतिपूर्तिबापत अवस्था हेरी अधिकतम १ लाख अमेरिकी डलरसम्मको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ ।’ यस्तै ‘दुर्घटनामा यात्रुको मृत्यु भएमा सम्बन्धित वायुसेवाले क्षतिपूर्तिबापत १ लाख अमेरिकी डलर बराबरको रकम मृतकको सबैभन्दा नजिकको हकदारलाई उपलब्ध गराउनु पर्नेछ,’ विधेयकमा उल्लेख गरिएको छ । 

ब्यागेजप्रतिको दायित्व पनि वायुसेवाकै हुने उल्लेख गरिएको छ । यात्रु तथा सामान वायुयानभित्र रहेको अवस्थामा वा वायुयानभित्र प्रवेश गर्दा वा स्थानान्तरण गर्दा वा वायुयानबाट बाहिर निस्कँदा वा स्थानान्तरण गर्दा वायुसेवाको लापरवाहीको कारणले भएको प्रत्यक्ष हानि–नोक्सानीको लागि मात्र वायुसेवा जिम्मेवार हुने उल्लेख गरिएको छ ।  वायुसेवाले जिम्मा लिएको ब्यागेज हराएमा, नष्ट भएमा वा हानि–नोक्सानी भएमा सोको क्षतिपूर्तिबापतको रकम वायुसेवाले सम्बन्धित यात्रुलाई दिनुपर्नेछ । क्षतिपूर्ति माग गर्ने व्यक्तिको कारणबाट सामानमा नोक्सानी भएको प्रमाणित भएमा भने वायुसेवाले कुनै किसिमको दायित्व वहन गर्नु नपर्ने उल्लेख गरिएको छ । जाँच गरिएका सामानमा हानि–नोक्सानी भएमा प्रतिकिलोग्राम अधिकतम २० अमेरिकी डलरको दरले कुल अमेरिकी डलर ५ हजारको सीमा ननाघ्ने गरी सो बराबरको नेपाली रुपैयाँमा वायुसेवाको दायित्व सीमित हुनेछ । यात्रुले वायुयानभित्र आफूसँगै लगेको वा राखेको तर जाँच नगरिएको सामानमा हानि–नोक्सानी भएमा अधिकतम अमेरिकी डलर ४०० बराबर हुने नेपाली रुपैयाँको हदसम्म वायुसेवाको दायित्व हुनेछ ।

यस्तै विधेयकले विभिन्न ३ ओटा अवस्थामा वायुसेवा दायित्व बेहोर्न बाध्य नहुने उल्लेख गरेको छ । खराब मौसम, प्राकृतिक वा दैवी प्रकोप, विमानस्थल वा एयर ट्राफिक सेवाको प्राविधिक कारण, सुरक्षा जस्ता कारण देखाइ उडानको लागि अनुमति दिने निकाय वा सुरक्षा निकायबाट रोक लगाइएको कारणबाट उडान स्थगन वा रद्द भएमा वा उडानमा ढिलाइ भएमा सो बापतको क्षतिपूर्ति, वायुसेवाले क्षतिपूर्ति माग गर्ने यात्रुको गम्भीर लापरवाहीको कारणबाट उक्त यात्रुलाई चोटपटक लागेको अंगभंग वा क्षति भएको भनी प्रमाणित गरेमा सो बापतको क्षतिपूर्ति र यात्रुलाई पहिलेदेखि नै रहेको कुनै गम्भीर रोगको कारणबाट यात्रुको अंगभंग वा मृत्यु भएमा सो बापतको क्षतिपूर्तिको दायित्व वायुसेवाको हुने छैन ।

वायुयानको दुर्घटना वा अन्य कुनै कारणबाट तेस्रो पक्षलाई हुन गएको हानि–नोक्सानी बापत क्षतिपूर्ति दिनुपर्ने दायित्व सम्बन्धित वायुसेवाको हुने उल्लेख गरिएको छ । वायुयानको दुर्घटना वा अन्य कुनै कारणबाट तेस्रो पक्षलाई भएको हानि–नोक्सानीको सीमा तोकिएको छ ।  १० हजार किलोग्राम वा सोभन्दा कम तौल भएको वायुयानको हकमा २५ मिलियन अमेरिकी डलर बराबर रकम, १० हजार १ किलोग्रामदेखि ३५ हजार किलोग्रामसम्म तौल भएको वायुयानको हकमा ३५ मिलियन अमेरिकी डलर बराबरको रकम र ३५ हजार १ किलोग्रामभन्दा माथि जतिसुकै तौल भएको वायुयानको हकमा ६० मिलियन अमेरिकी डलर बराबर रकमको बीमा गरिएको हुनुपर्ने उल्लेख गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।