- डेढ अर्ब लगानीमा पुम्दीकोट–महादेव केबलकार परियोजना शुरू हुँदै
- नयाँ केबलकार परियोजनामा अग्नि समूहको साथ
काठमाडौं । नेपालमै पहिलो पल्ट मनकामना केबलकार सञ्चालनमा ल्याएको अढाइ दशकभन्दा बढी समयपछि चितवन को–ई समूहले पोखरामा अर्को केबलकार परियोजना शुरू गर्ने प्रयास अघि बढाएको छ । उसले अर्को एक व्यापारिक समूहसँगको साझेदारीमा पोखराको पुम्दीकोटमा १ अर्ब ६० करोड रुपैयाँ लगानीमा पुम्दीकोट–महादेव केबलकार परियोजना शुरू गर्न लागेको हो । यो परियोजनामा चितवन को–ईसँग अग्नि समूहले सहकार्य गर्दै छ ।
तीर्थयात्री र पर्यटकलाई त्यस क्षेत्रमा अझ बढी आकर्षित गर्न यी दुई व्यावसायिक घरानाको संयुक्त लगानीमा नयाँ केबलकार सेवा प्रारम्भ गर्ने तयारी गरिएको हो । सन् १९९८ मा देशकै पहिलो मनकामना केबलकार सञ्चालनमा ल्याएपछि आफ्नो समूहले दोस्रो केबलकार निर्माण गर्न लागेको चितवन को–ई समूहका निर्देशक राजेशबाबु श्रेष्ठले आर्थिक अभियानलाई बताए । सन् २०२६ को जुलाईसम्म परियोजना सञ्चालनमा ल्याउने गरी अहिले तीव्र रूपमा काम अघि बढेको उनले बताए ।
यतिबेला वातावरणीय प्रभाव मूल्यांकनलगायत पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहणको काम धमाधम भइरहेको श्रेष्ठले जानकारी दिए । मनकामना केबलकारको सफलतापछि यो परियोजना शुरू गरिएको भन्दै उनले यसलाई कसरी सफल बनाउने भन्नेतर्फ आफूहरूको ध्यान रहेको बताए ।
चितवन को–ईले अहिले कर्जा लिने प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमार्फत रेटिङ गराएको छ । कम्पनीको लगानी संरचनामा ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत इक्विटी समावेश छ ।
केबलकार परियोजनाहरूलाई सामान्यतया माथिल्लो र तल्लो स्टेसनसहित आधारभूत भौतिक पूर्वाधारमा लगानी आवश्यक पर्छ । पुम्दीकोट–महादेव केबलकार १ दशमलव १ किलोमिटर लामो हुनेछ । यसको अनुमानित लागत प्रतिकिलोमिटर १ अर्ब ४५ करोड रुपैयाँ हुने बताइएको छ । श्रेष्ठका अनुसार परियोजना पूरा हुने अनुमानित समयसीमा लगभग डेढ वर्ष हो । यद्यपि, निर्माण चरणमा बैंक ब्याज, अप्रत्याशित ढिलाइ वा लागत वृद्धिले कम्पनीको वित्तीय प्रोफाइललाई असर गर्न सक्छ । सञ्चालन शुरू भएपछि परियोजनाको ऋण तिर्न ११ वर्षसम्म लाग्ने अनुमान गरिएको छ । पुम्दीकोट–महादेव अपेक्षाकृत नयाँ गन्तव्य भएकोले परियोजनाले यसबाट थप फाइदा हुन सक्ने देखेको छ ।
पुम्दीकोटलाई लक्ष्य गरी विकास गर्न लागिएको यो परियोजनाले करीब तीन वर्षअघि पहाडको टुप्पोमा निर्माण गरिएको महादेवको मूर्ति, पोखरा शहर र अन्नपूर्ण पर्वत शृंखलाको रमणीय दृश्यसँगै तीर्थयात्री र अन्य पर्यटकलाई आकर्षित गर्न भूमिका खेल्ने विश्वास गरिएको छ । परियोजनाको नेतृत्व गर्ने प्रमुख व्यक्तित्वहरू चितवन को–ई समूहका राजेशबाबु श्रेष्ठ र अग्नि समूहका अर्जुनप्रसाद शर्मा हुन् । चितवन को–ई समूहले सन् १९९८ देखि मनकामना केबलकार सञ्चालन गर्दै आएको छ । क्रेडिट रेटिङ एजेन्सीका अनुसार कम्पनीको ऋण मूल्यांकन १ अर्ब २८ करोड अर्ब रुपैयाँ छ । केही वर्षयता विभिन्न व्यापारिक समूहले देशका विभिन्न ठाउँमा केबलकार बनाउन थाले पनि नेपालमा केबलकारको अग्रणी चितवन को–ई समूह मनकामना केबलकारमै सीमित थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।