‘तराईको शीतलहर भोगेको छु । काठमाडौंको मीनपचास पनि भोगेको छु । रुसको चिसोमा वर्षौं बिताएको छु । हिउँका डोब पछ्याउँदै युरोपमा सेतै भएर हिँडेको छु । तर यति चिसो यसअघि कहिल्यै अनुभव गरेको थिइनँ । यो चिसो, मैले जीवनमा भोगेका साराका सारा चिसोको पिता मात्र होइन, पितामह नै रहेछ । एकछिन त मेरो दिमाग जमेजस्तो भयो । धमनीहरूमा रगतको प्रवाह ठाउँ ठाउँ रोकिए जस्तो भयो । हात–खुट्टा अरठ्ठ पर्छन् कि जस्तो पनि भयो ।’
अन्टार्कटिकाको चिसो पानीमा ‘प्लञ्ज’ गर्दा आफ्ले गरेको अनुभूति नियात्राकार जीवा लामिछानेले आफ्नो पुस्तक ‘अक्षत अन्टार्कटिका’को दोस्रो पृष्ठमै यसरी पोखेका छन् । सन् २०२४ को जनवरी १३ देखि २४ सम्म दक्षिणी गोलार्द्धको कुनामा रहेको अन्टार्कटिका महादेशको यात्रा गरेका लामिछानेले पुस्तकमा अन्य विभिन्न साहसिक अनुभूतिहरू प्रकाशित पुस्तकमा पोखेका छन् । लामिछाने सम्मिलित त्यो यात्राको नाम थियो– स्पिरिट अफ अन्टार्कटिका र त्यो यात्राको थिम थियो– ‘सी ह्वाट अदर्स डोन्ट’ अर्थात् ‘हेर, जो अरुले देख्दैनन्’ ।
हिउँ नै हिउँले भरिएको यो महादेशमा नेपालीहरू फाट्टफुट्ट आए पनि उनीहरूले पुस्तककै रूपमा आफ्नो अनुभूति लेखेको नपाएकाले आफू यो पुस्तक लेख्न अघि सरेको लामिछानेले उल्लेख गरेका छन् । अन्य भाषामा पुस्तकहरू प्रकाशित भए पनि नेपाली भाषाको पुस्तक हुँदा पाठकलाई रुचिकर हुने ठानेर आफूले यो पुस्तक लेखेको उनको स्पष्टोक्ति छ । पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो ।
पुस्तकभित्र यात्राको योजना, तयारी, यात्रामा हिँडेको मार्ग, यात्राका लागि आवश्यक पर्ने महत्त्वपूर्ण जानकारी, सामग्रीका साथै महासागरमा उठेको अग्लो छालले यात्रालाई रोमाञ्चक र डरलाग्दो बनाएको चर्चा गरिएको छ । अन्टार्कटिका पुगेपछि उनलाई हिउँ छिटो कुल्चन मन पर्छ । उनी हिउँको पहाड, पेन्गुइनका ताँती, सिल र ह्वेल माछाको दृश्यमा विलीन हुन्छन् ।
यात्रा अनुभूति भए पनि अन्टार्कटिका अन्वेषणको इतिहास, त्यसमा संलग्न महत्त्वपूर्ण मानिसहरूको काम, त्यहाँको पर्यावरण, नेपाल र अर्जेन्टिनालाई जोड्ने प्रयास आदिले गर्दा ‘अक्षत अन्टार्कटिका’लाई पढ्नैपर्ने पुस्तकमा दर्ज गराएको छ । ठाउँ पत्ता लगाउन युरोपेलीहरूले गरेको अन्वेषणको इतिहास, सीमित साधनको अभाव भए पनि तिनको अदम्य साहसको वर्णन लेखकले यसरी गरेका छन् कि उनी आफै यसका द्रष्टा हुन् । यसका लागि उनले आफ्नो कल्पनाशीलताको भरपूर प्रयोग गरेका छन्, जसकारण यो पुस्तक यात्रा वर्णनमा मात्र नसकिएर नेपालको साहित्य क्षेत्रमा योगदानको रूपमा आएको छ । उदाहरणका लागि बेलायती सामुद्रिक डाँकु फान्सिस ड्रेकलाई आफ्नो भ्रान्तिको कोलाज बनाएर खतरनाक छाल आउने प्रशान्त, आन्ध्र र दक्षिण महासागरको त्रिवेणी भएको ठाउँ ‘ड्रेक प्यासेज’को वर्णन गरेका छन् ।
सन् १५७८ मा ड्रेकले यो ठाउँ पार गरेपछि अर्को ठाउँ पुगिन्छ भन्ने पत्ता लगाए । उनी आफैले सो प्यासेज पार गरेनन्, तर यो खतरनाक ठाउँबारे पहिलोपल्ट जानकारी दिएकाले यसको नाम ड्रेक प्यासेज राखिएको हो । पुस्तकमा लेखकले अन्टार्कटिका र वरपरको क्षेत्रको नाम कसरी रह्यो र ती नाम अन्टार्कटिका अन्वेषणको इतिहासँग कसरी जोडिन्छन् भनेर वर्णन गरेका छन् । वास्तवमा यो पुस्तकमा इतिहास र वर्तमानको संगम पाइन्छ । उनले मार्कोपोलो र जेम्स कुकदेखिको अन्वेषणको इतिहास खोतलेर पस्केका छन् ।
सन् १९१५ मा प्रख्यात बेलायती अन्वेषक अर्नेष्ट स्याकल्टन अन्वेषणमा जाँदा जहाज डुबेको, त्यहाँबाट जोगिएर भागेपछि उनका केही साथीहरू बिरामी परेको र उनीहरूको मद्दत गर्न उनले देखाएको साहसको चर्चा पनि पुस्तकमा गरिएको छ ।
पुस्तकमा वर्णित ह्वेल तथा सिलको शिकार र व्यापारको कथा पढ्दा हृदय कुँडिन्छ । मान्छे यति उच्च श्रेणीको भएर पनि आफ्नो स्वार्थका लागि यी प्राणीहरूको हत्या गरी व्यापार गर्छ ।
यसरी चलेको व्यापारले ह्वेल कसरी विनाशको सँघारमा पुग्यो र पछिल्ला दशकमा संरक्षण अभियानले तिनको संख्यामा कसरी बढोत्तरी आयो भन्ने कुरा पनि पुस्तकमा वर्णन गरिएको छ । ह्वेलको चरम व्यापारीकरण देखेर सन् १९८२ यता अन्तरराष्ट्रिय ह्वेलिङ कमिशन बनाई ह्वेलको शिकारमा प्रतिबन्ध लगाइएको छ । यो संरक्षण प्रयासलाई लेखकले नेपालको बाघ तथा एकसिंगे गैंडाको संरक्षण प्रयाससँग जोडेर नेपालले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् ।
ह्वेलको शिकारमा प्रतिबन्धका साथै अन्टार्कटिकामा त्यहाँका जीवजन्तुको संरक्षणको प्रयासबारे पनि पुस्तकमा चर्चा गरिएको छ । सन् १९९४ यता अन्टार्कटिकामा कुनै पनि जीवजन्तु ल्याउन नपाइने नियम बनाइएको छ । नियात्राकारले एक्स्पिडिशनका एक सदस्यले गोजीमा कुनै बीउबिजन, कागजका टुक्रा, प्लास्टिक छन् कि भनेर जाँचेको र कपडामा भएको रहलपहल धूलो पनि भ्याकुम क्लिनरले सफा गरेको प्रसंग उल्लेख गरेका छन् । यो सानो कुराले उनको हृदयको अन्तरकुन्तर झङ्कृत हुन्छ र सगरमाथा क्षेत्र फोहोर भएकोमा औडाहा हुन्छ ।
यो महादेशमा हालसम्म कुनै देशको सार्वभौम अधिकार छैन । तर विभिन्न देशहरूले अनुसन्धानका लागि आफ्ना देशका वैज्ञानिक पठाएका छन् । भारतीय अनुसन्धान टोलीमा सामेल भएर भारतीय सेनामा काम गर्ने एक नेपाली पनि २०४३ सालमै त्यहाँ पुग्छन् । सो महादेश पुग्ने उनी नै पहिलो नेपाली भएको दाबी छ । बागलुङमा जन्मिएर हाल भैरहवामा बस्ने भुवनसिंह विश्वकर्मा २०४३ सालमा भारतीय अनुसन्धान केन्द्रमा पुगेर करीब ६ महीना बिताएका थिए । सन् १९८६/८७ र सन् १९९० मा त्यहाँ पुगेका विश्वकर्माको यात्रा विवरणलाई पनि लामिछानेले एक अध्यायमा समेटेका छन् ।
विश्वकर्माको यात्रालाई पर्याप्त स्थान दिनु र त्यहाँ पुग्ने पहिलो नेपाली भएर पनि गुमनाम रहेका व्यक्तिबारे जानकारी दिनु पनि पुस्तकको सकारात्मक पक्ष हो । स्थानीय तहमा उनी परिचित नाम भए पनि राष्ट्रिय र अन्तरराष्ट्रिय पहिचान दिन यो पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
गजबको कुरा– नियात्राकारले अन्टार्कटिकाको हुलाकबाट श्रीमतीलाई पत्र पनि लेखेर पठाउँछन् । पेन्गुइन पोष्ट अफिसको नामले चिनिने सो ठाउँबाट जर्मनीको फ्य्राङ्कफर्टमा रहेकी आफ्ना श्रीमतीका लागि लेखेको चिठी घरमा आफैले खोलेको रोचक जानकारी पनि पुस्तकमार्फत दिइएको छ ।
समग्रमा पुस्तक रोमाञ्चकताले भरिएको छ । तर पुस्तकमा वर्णित इतिहासका साहसिला अन्वेषकको कथा, ह्वेल तथा शिलको शिकारको कथाले भने संवेदनशील पनि बनाउँछ । पुस्तकमा वास्तविकता र कल्पनाशीलताको मिलन गराइएकाले पढ्न शुरू गरिसकेपछि बीचमै छाड्न मन लाग्दैन । लेखन सरल र बुझिने किसिमको छ । पुस्तक मूलतः नियात्रा विधाको भए पनि कतै आख्यान र कतै काव्यात्मक अभिव्यञ्जना पनि पाइन्छ ।
इतिहासको वर्णन गर्ने क्रममा विभिन्न विदेशी नामहरू रहेकाले सबैको नाम सम्झिरहन भने गाह्रो हुन्छ । तर यो पुस्तकलाई गहन बनाउन ती पात्रको वर्णन भने अत्यावश्यक लाग्छ ।
यो नियात्रा पुस्तकका लागि लेखक लामिछानेले १८३ पेज खर्चिएका छन् । २०८१ फागुनमा बजारमा आएको यो पुस्तकमा विभिन्न २८ शीर्षकमा यात्राको वर्णनलगायत अनूभूति पोखिएको छ । हिउँको डल्लामाथि पेनगुइनको चित्रले पनि पुस्तक अन्टार्कटिकाको बारेमा हो भन्ने आभास गराउँछ । पुस्तकमा अन्टार्कटिकाको मानचित्र, त्यसभित्रका महत्त्वपूर्ण स्थल र त्यहाँ जान अर्जेन्टिनाको ब्युनस आयर्सदेखिको रूट पनि समावेश छ ।
हार्डकभरमा उपलब्ध पुस्तकको मूल्य ६ सय रुपैयाँ रहेको छ ।
यो किताब पुस्तक पसलहरू तथा अनलाइन पुस्तक पसलहरुमा पनि उपलब्ध छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।