‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लापरवाही, ढिलासुस्तीजस्ता समस्या छन्’

प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठक । तस्वीर : रासस

Share News

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लापरवाही, ढिलासुस्तीजस्ता समस्या देखिएको बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफलमा उनले भने, ‘त्रिभुवन विमानस्थललाई व्यवस्थित बनाउन हामीले पटकपटक आवाज उठाइरहेका छौं । तर, विमानस्थल थप व्यवस्थित हुन सकेको छैन । यहाँँ निरन्तररूपमा लापरबाही हुने, सेवाग्राहीहरूले ढिलासुस्ती व्यहोर्नुपर्ने अवस्था छ ।’ 

साथै उनले लगेज लिनका लागि पनि यात्रुहरूले डेढ घन्टासम्म कुनुपर्ने अवस्था रहेको बताए । ‘लगेज पेरिजमा राख्नको लागि कस्टम (भन्सार)को कर्मचारी नआइकन मिल्दैन । लगेज बाहिर राख्या छ । कर्मचारी ४५ मिनेटसम्म आउँदैनन्,’ उनले भने । 

प्रत्युत्तरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताए ।

‘टीआईएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौं, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ,’ उनले भने, ‘विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय रहेकाले सबैको प्रतिनिधित्व हुनेगरी विमानस्थलका महाप्रबन्धकको नेतृत्वमा सुधार कार्ययोजनाका लागि समिति बनाइएको छ, समितिको कार्ययोजनासहितको प्रतिवेदन चाँडो ल्याएर सेवा सुधारका लागि मन्त्रालयले थप ताकेता गर्नेछ ।’

पर्यटनमन्त्री पाण्डेले टीआईए क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले यात्रु व्यवस्थापनलगायत काममा कठिनाइ भइरहेको स्पष्ट पारे ।  

‘अरु देशको तुलनामा टीआइए साँघुरो छ, टर्मिनललगायत भौतिक पूर्वाधार पर्याप्त छैनन्, ‘स्पेस’को सीमितताले विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले यात्रुहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको छ, अरु देशका यात्रु विमानबाट ओर्लिएर टर्मिनल आइपुग्न निकै समय लाग्छ, यसले गर्दा धेरै समय कुर्नुपरे जस्तो देखिन्छ,’ उनले भने । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।