काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले मानसरोवर जान आएका विदेशी पर्यटकको भिसा प्रक्रिया सरल बनाउन सरकारसँग माग गरेका छन् ।
आइतवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई सेवा प्राधिकरण विधेयकसम्बन्धी छलफलमा उनले उक्त माग गरेका हुन् ।
चीनको भिसा प्रक्रिया ढिलाइका कारण मानसरोवर जान आएका करीब तीन हजार विदेशी पर्यटक नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र रहेको उनले बताए । यही कारण पर्यटकले सास्ती भोग्नुपरेको उनको भनाइ छ ।
उनले भने, ‘पहिला चार दिनमा भिसा आउने रहेछ । अहिले १२ दिन भइसक्दा पनि भिसा आएको छैन,’ उनले भने, ‘भिसा प्रक्रियाको सरलीकृत गर्न मन्त्रालयले के गर्नुपर्छ, तत्काल गर्नुपर्ने देखियो ।’
प्रत्युत्तरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मानसरोवर जाने पर्यटकको भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गरिने विश्वास व्यक्त गरे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।