कृषि कर्जा सरल बनाउन गभर्नर डा. पौडेललाई कृषिमन्त्री अधिकारीको आग्रह

Share News

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरल बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई आग्रह गरेका छन् । 

नेपाल राष्ट्र बैंकका गर्भनर डा. पौडेलसँग आज सिहंदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरीवी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले साना किसानहरूले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औंल्याए । ‘कृषिका लागि ठूलो परिमाणमा ऋण लिएकाहरूले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पूरा हुन सक्ने देखिँदैन,’ मन्त्री अधिकारीले भने‚ ‘कृषि ऋणको सहि उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्दछु‚’ मन्त्री अधिकारीले भने । 

मन्त्री अधिकारीले कसैले ऋण नपाउने र पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए । सरकारी स्वामित्वका बैंकहरूले पनि कृषि कर्जा बढाउनु पर्ने र राष्ट्र बैंकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना उनीहरूले गर्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए । 

नेपाल राष्ट्र बैंकका गर्भनर डा. पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भ आफ्नो पनि चासोको विषय भएकाले प्रतिफल आउनेगरी काम गर्न जरुरी रहेको बताए । किसानलाई व्यावसायिक नबनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउनेगरी लगानीको आवश्यकतामा गर्भनर डा. पौडेलले जोड दिए । 

उनले आफू हालै विभिन्न जिल्लामा जाँदा माटो खेलाउनेले कृषि ऋण नपाउने, कागज खेलाउनेले ऋण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई ऋण मात्र बोकाउने भन्दा पनि किसानलाई सहि बाटोमा हिँडाउन सबै निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षका लागि राष्ट्र बैंकले मौद्रिक नीति तयार गरिरहेको वेला मन्त्री अधिकारी र गर्भनर डा. पौडेलबिचको भेट महत्त्वपूर्ण रहेको छ ।

भेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खराल, पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी, मन्त्री अधिकारीका नीजि सचिव वरिष्ठ बाली संरक्षक रोशन अधिकारी, नेपाल राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारीलगायतको सहभागिता रहेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।