काठमाडौं । नेपालमा तीव्र सहरीकरणका कारण खेतीयोग्य जमिनमा प्रत्यक्ष असर पारेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो एक दशकमा (वि.सं. २०६८ देखि २०७८ सम्म) खेतीयोग्य भूमि १६.६ प्रतिशतले घटेको छ ।
२०६८ सालमा २२ लाख हेक्टर रहेको उब्जाउ भूमि एक दशकपछि १८ लाख हेक्टरमा सीमित रहेको तथ्यांकले देखाउँछ ।
समीक्षा अवधिमा सबै प्रदेशहरूमा खेतीयोग्य जमिन घटेको छ । तीमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी (२२.९ प्रतिशत) र मधेश प्रदेशमा सबैभन्दा कम (१२.९ प्रतिशत) खेतीयोग्य जमिन घटेको छ ।
पछिल्लो समय सहरीकरण बढ्दो छ । पहाड वा दुर्गम भूभागबाट तराई तथा सहर केन्द्रित क्षेत्रतिर बसाइँसराइ गरी आउने क्रम बढ्दो देखिन्छ । यही कारण तराई वा सुगम स्थानमा खेतीयोग्य जमिन प्लटिङ गरी बस्ती बसाउने क्रम बढेको छ ।
तीव्र सहरीकरणका कारण सहर र सहर केन्द्रित क्षेत्रको जनसंख्या पनि बढिरहेको छ ।
पछिल्लो जनगणनाको तथ्यांकले एक दशकमा सहर र सहर केन्द्रित क्षेत्रको जनसंख्या करीब ४ प्रतिशतले बढेको देखाएको छ । २०७८ को जनगणनाअनुसार नेपालमा सहरी र सहर केन्द्रित क्षेत्रमा ६७ प्रतिशत बसोबास गर्छन् । २०६८ सालको जनगणनाको तथ्यांकअनुसार उक्त क्षेत्रमा बसोबास गर्ने ६३.१९ प्रतिशत मात्रै थिए ।
सहर र सहर केन्द्रित क्षेत्रको जनसंख्या बढेसँगै ग्रामीण क्षेत्रको जनसंख्या घटेको छ । अघिल्लो जनगणनाअनुसार ३६.८१ प्रतिशत रहेको ग्रामीण भेगको जनसंख्या पछिल्लो जनगणनामा भने ३३ प्रतिशतमा सीमित बनेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।