- कालोधन आर्जन गर्नेहरू कानूनी कारबाही र उल्झनबाट सुरक्षित हुन सम्पत्ति शुद्धीकरण गर्ने गराउने गर्छन् ।
- नेपाल राष्ट्र बैंकबाट पनि लघुवित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १८ मा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणका लागि गर्नुपर्ने कार्य सम्बन्धमा निर्देशन गरेको छ ।
- प्रत्यक्ष समूह तथा केन्द्र सञ्चालक कर्मचारीलाई सहज तरीकाले ग्राहक र तिनीहरूको कारोबारको जानकारी हुन जानाले लघुवित्तमा सम्पत्ति शुद्धीकरणको सम्भावना न्यून देखिन्छ ।
सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानूनी क्रियाकलाप गरी आर्जन गरेको धनसम्पत्तिलाई कानूनसम्मत क्रियाकलाप तथा स्रोतबाट प्राप्त गरेको देखाउन सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य गर्नु नै सम्पत्ति शुद्धीकरण हो । अर्थात् कानूनले बन्देज गरेको, रोक लगाएको अवैध कार्यबाट आर्जित कालोधनलाई निक्षेपण गर्ने, तहकीकरण तथा एकीकरण गरेर चोख्याउने वा शुद्ध पार्ने वा कानूनसम्मतमा परिणत गरी वैध बनाउने कार्यलाई सम्पत्ति शुद्धीकरण बुझ्नुपर्छ । खासगरी आतंककारी तथा आतंकवादमा वित्तीय लगानी गर्न लागूऔषध कारोबार, भ्रष्टाचार, अवैध हातहतियारको कारोबार, मानव तस्करी, अमूल्य वस्तु, जनावर र बोटबिरुवा तथा वनस्पतिको तस्करी, सीमा तस्करी, चिट्ठा, ठगी, माफिया सञ्चालन, हुन्डी व्यापार, क्यासिनो सञ्चालन, अपहरण र फिरौती, चोेरीडकैती राजस्व तथा करछली लगायतका कार्यहरू अवैध धन आर्जनका स्रोतहरू हुन् ।
किन गरिन्छ सम्पत्ति शुद्धीकरण ?
आजकाल सम्पत्ति शुद्धीकरणकोे विषय विश्वव्यापी रूपमा धेरै छलफलको विषय बनेको छ । शिक्षा, सञ्चार, यातायात र प्रविधिको विकासले विश्वसमुदायलाई एकदमै निकट बनाइदिएको छ । सुविधाको प्यासमा मानवसृजित विकास चरम अवस्था पुगेको समयमा सुविधाका साधनहरूको उपयोगका साथै चरम दुरुपयोगको सम्भावना पनि सँगसँगै वृद्धि भएको छ । यसरी विश्वव्यापी रूपमा विकसित सुविधाको भोग कसले धेरै गर्ने प्रतिस्पर्धा भएको छ । विश्वको कुनै कुनामा बस्ने व्यक्तिले विश्वभरि जहाँसुकै निर्मित तथा उत्पादित वस्तु तथा सेवाको जानकारीसँगै उपभोग तत्कालै गर्न सक्ने अवस्था सृजना भएबाट समाजमा म खाऊँ, मै लाऊँको प्रवृत्ति एकदमै बढेर गएको छ । समाजको सामाजिकता, मानवता, आध्यामिकतामा व्यापारीकरण भएको छ । फलस्वरूप धनसम्पत्ति नै सर्वथोक हो भन्ने अवस्था सृजना हुन गएको छ । यसले गर्दा सम्पत्तिप्रतिको मोह अत्यधिक वृद्धिसँगै जसरी भए पनि धेरै सम्पत्ति आर्जन गर्ने र सुखसुविधाको भोग गरेर समाज, राष्ट्र र विश्वस्तरमा नै आफ्नो प्रभुत्व वृद्धि गरेर प्रभाव पार्ने कार्यमा दौडधुप बढेको छ । धनसम्पत्तिको आडमा शक्ति प्राप्त हुने र शक्तिका लागि सत्ता जरुरी पर्ने हुन्छ । यसरी सम्पत्ति र शक्तिका आडमा प्राप्त गरिने सत्ताबाटै सञ्चालित हुने राजनीतिले जसरी हुन्छ धेरै धन कमाउने, लुट्ने, भ्रष्टाचार गर्ने, अख्तियार दुरुपयोग गर्ने‚ त्यसको लागि हातहतियार संग्रह गर्ने, बनाउने, त्यसैको माध्यमले समाजलाई भड्काउने बिथोल्ने, आन्दोलन हिंसा बढाउने लगायतका कार्य गरेर धन आर्जन गर भन्ने मौन सन्देश अहिलेको नेपाली समाजमा फैलिरहेको पाइन्छ । सामाजिक, आर्थिक मुद्दालाई राजनीतीकरणको माध्यमबाट अगाडि सारेर होस् वा गैरकानूनी व्यापार व्यवसाय सञ्चालन गरेर, सत्ता तथा शक्ति अख्तियारको दुरुपयोग गरेर, जसरी भए पनि धेरै कमाउने, रमाउने सोचले व्यापकता छाएको छ । यसरी समाजमा असुरक्षा, अशान्ति, विध्वंसलगायत कार्यमा वित्तीय लगानी तथा सम्पत्ति शुद्धीकरण निवारण गर्ने क्रियाकलापको अति आवश्यक देखिएको छ । यस परिस्थितिमा कालोेधन आर्जन गर्नेहरू कानूनी कारबाही र उल्झनबाट सुरक्षित हुन सम्पत्ति शुद्धीकरण गर्ने गराउने कार्य धेरै हुने गर्दछ ।
सम्पत्ति शुद्धीकरण कसले र कसरी गर्छ ?
समाजमा अवैध कार्यमा संलग्न गर्नेहरूले सम्पत्ति शुद्धीकरण गर्ने गर्छन् । खासगरी आपराधिक संगठनका सदस्यहरू, भ्रष्टाचारी राजनीतिक दलका कार्यकर्ताहरू, भ्रष्टाचारी कर्मचारीहरू, उच्च पदमा आसीन राजनीतिक दलका नेता, कर्मचारीहरू, लागूपदार्थका कारोबारीहरू, आतंककारीहरू, गैरकानूनी व्यापारीहरू, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरू, मानव बेचबिखन गर्ने तस्करहरू नै सम्पत्ति शुद्धीकरणका मुख्य वाहक तथा कर्ता हुन् । यिनै कालोधन आर्जनकर्ताहरू नै सम्पत्ति शुद्धीकरण क्रियाकलापमा सक्रिय रहेका हुन्छन् ।
कालो धन आर्जन गर्नेहरूले आर्जन गरेको धन बैंक वित्तीय संस्थामा खातामा जम्मा गर्ने, विभिन्न कार्यमा लगानी गर्ने, सम्पत्ति खरीद गर्ने, खर्चिलो तथा भड्किलो जीवनशैली बिताउने, आफ्ना नातेदार, कामदारहरूका नाममा बैंक वित्तीय संस्थामा खाता सञ्चालन गर्ने, आफ्नो तथा अरूको नाममा शेयर कारोबार गर्ने, सम्पत्ति खरीद गर्ने गरेर कालो धनको तहकीकरण गर्छन् । यसरी तहकीकरण गरेको कालो धन क्रमशः वैध बनाउँदै एकीकरण गर्ने कार्य गर्छन् । यस कार्यमा बैंक तथा वित्तीय संस्थालाई माध्यम बनाउँछन् । सम्पत्ति शुद्धीकरणका लागि बैंकिङ सेवाको प्रयोग पर्याप्त हुन सक्ने प्रबल सम्भावना हुन्छ । वित्तीय सेवा प्रवाह गर्ने सबै संस्था सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानीका लागि माध्यम बन्ने भएकाले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने अभियानका लागि वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ । यसरी सबै बैंक वित्तीय संस्था सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने कार्यप्रति लक्षित गरिएको अवस्थामा लघुवित्त सेवासमेत परिधिभन्दा बाहिर रहने कुरा भएन ।
लघुवित्त संस्था र सेवा
समाजमा रहेका विपन्न, धितोविहीन, बेरोजगार, दलित जनजाति सुकुमबासीमा रहेका महिलाहरूलाई वित्तीय तथा गैरवित्तीय सेवाको पहुँचमा ल्याएर उनीहरूलाई आयआर्जन क्रियाकलापमा सहयोग पुर्याएर उद्यमशीलता, स्वरोजगारी, रोजगारीको सृजनामार्फत उनीहरूको आर्थिक सामाजिक स्तर उन्नति गराएर समग्र गरीबी कम गर्ने उद्देश्यले प्रवाह गरिने सेवा नै लघुवित्त सेवा हो । यिनीहरूले धितोविहीनहरूको धितो सृजना गराउन लक्षित वर्गलाई समूहमा आबद्ध गराएर समूह जमानतमा विनाधितो कर्जा, बचत, विमा र विप्रेषणलगायत वित्तीय सेवाका साथै शीप प्रवर्द्धन, वित्तीय तथा व्यावसायिक साक्षरता वृद्धिका लागि गैरवित्तीय सेवासमेत प्रवाह गर्छन् । यसका लागि हरेक सदस्यको घरदैलोमा नै गएर तथ्यांक संकलन, पहिचान गरेर मात्रै समूहमा आबद्ध गराएर सेवा प्रवाह गर्न शुरू गर्छन् । लघुवित्त सेवामा आबद्ध हरेक सदस्यको विस्तृत जानकारीका लागि व्यक्तिगत तथा पारिवारिक विवरण आर्थिक, सामाजिक अवस्थाको विश्लेषणसहित संकलन गरिएको हुन्छ । साँच्चिकै लघुवित्त सेवा सञ्चालन सिद्धान्तअनुसार गर्यो भने लघुवित्त सेवामा ग्राहक पहिचान र सम्पुष्टि गर्न कुनै पनि समस्या छैन । परम्परागत बैंक वित्तीय संस्थामा जस्तो कागजको भरमा, कुरा र तथ्यांकका आधारमा मात्रै ग्राहक पहिचान गर्न पर्ने र त्यसबाट हुने जोखिम लघुवित्त सेवामा रहँदैन ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐेन तथा नियमावली र निर्देशन
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, कानून तथा नीतिनियमावली बनाउने कार्य संयुक्त राज्य अमेरिकाको बैंक सेक्रेसी एक्ट, १९७०ले बैंक वित्तीय संस्थामा रकम जम्मा गर्दा तोकिएको सीमाभन्दा धेरै जम्मा गर्दा स्रोत खुलाउनु पर्ने व्यवस्था गरिएबाट शुरू भएको हो । विश्व समुदायमा करीब आधा शताब्दीभन्दा अगाडिबाट शुरू भए तापनि नेपालमा २०६४ सालमा पहिलो सम्पत्ति शुद्धीकरण ऐन प्रचलनमा आएको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, २०६४ को मुख्य उद्देश्य अपराधजन्य कार्यबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्न नियन्त्रण गर्ने तथा रोक्ने र आतंककारी गतिविधिमा वित्तीय लगानी निवारण गर्ने र त्यस्तो लगानी कार्यलाई अपराधको सूचीमा राखेर कारबाही गर्ने रहेको छ । ऐनले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्यमा वित्तीय लगानी वित्तीय अपराध, कसुरमा सजाय र कारोबारको रिपोर्टिङ गर्ने बैंक तथा वित्तीय संस्थाको कार्य हुने किटान गरी शंकास्पद र कारोबार सीमाको निगरानी गरी त्यसको प्रतिवेदन गर्नुपर्ने दायित्व तोकिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐेन, २०६८, २०७० र २०८० मा संशोधन भइसकेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐेन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ नेपालमा सम्पत्ति शुद्धीकरण रोक्ने तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई अपराधीकरण गर्ने प्रमुख कानूनी उपकरणका रूपमा रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको नियामकीय निकाय नेपाल राष्ट्र बैंकबाट पनि लघुवित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १८ मा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणका लागि गर्नुपर्ने कार्य सम्बन्धमा निर्देशन गरेको छ । निर्देशनमा उल्लिखित व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी आफ्नो संस्थाको नीति तथा कार्यविधि बनाएर लागु गर्नुपर्ने हुन्छ । संस्थाले तर्जुमा गरेको नीति तथा कार्यविधिअनुसार ग्राहक पहिचान तथा सम्पुष्टि, सूचीकृत व्यक्तिको पहिचान, वास्तविक धनीको पहिचान गर्न सरलीकृत तथा बृहत् ग्राहक पहिचान, ग्राहक तथा वास्तविक धनी पहिचान कार्य नियमित अद्यावधिक गर्नुपर्ने, संस्थाले सम्पत्ति शुद्धीकरण निवारण जोखिम व्यवस्थापनमा ग्राहक, भौगलिक क्षेत्र, सेवा र माध्यमको जोखिम विश्लेषण तथा मूल्यांकन गर्नुपर्ने, त्यस सम्बन्धमा विद्युतीय माध्यमबाट सूचना दिनुपर्ने, वायर स्थानान्तरण सम्बन्धी कार्य गर्न सक्ने, निरन्तर अनुगमन गर्नुपर्ने, सीमा कारोबार, शंकास्पद कारोबार, तथा गतिविधिको प्रतिवेदन पेश गर्नुपर्ने, सूचनाको गोप्यता राख्नुपर्ने, आन्तरिक नियन्त्रण, अभिलेख व्यवस्थापन सम्बन्धमा निर्देशन गर्दै ऐन तथा निर्देशनअनुसार कार्य नगर्ने नगराउनेलाई कारबाही तथा सजाय सम्बन्धमा निर्देशन गरेको छ ।
लघुवित्तमा सम्पत्ति शुद्धीकरणको सम्भावना
लघुवित्त सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न घ वर्गको इजाजत पत्र प्राप्त संस्था हुन् । यी संस्थाको मुख्य ग्राहक विपन्न, गरिब, भूमिहीन, बेरोजगार, दलित जनजाति तथा महिलाहरू हुन् । जो अन्य बैंक वित्तीय संस्थाबाट वित्तीय सेवा तथा कर्जा नलिएका परिवारहरूलाई समूहमा आबद्ध गराएर विनाधितो तथा धितो लिएर व्यक्तिगत कर्जा लगानी गर्छन् । लघुवित्त संचालन सिद्धान्त अनुसार प्रक्रिया पूरा गरी समूहमा आबद्ध सदस्यलाई मात्रै ग्राहकका रूपमा स्वीकार गरी सेवा प्रवाह गर्छन् । समूह सदस्यहरूलाई उनीहरूको घरटोलमा मासिक रूपमा बैठक राखी वित्तीय सेवा प्रवाह गर्ने, निरन्तर सदस्यहरू र घरपरिवारसँग वित्तीय संस्थाका कर्मचारी सम्पर्कमा रहने भएकाले लघुवित्त सेवामा ग्राहक पहिचान, सम्पुष्टि र निरन्तर निगरानी सहज र सेवा प्रकृतिको विशेषता नै हो । विपन्न गरीब समुदायसँगको कारोबार हुनाले सीमा नाघेर हुने कारोबार दुर्लभ नै हुने र शंकास्पद कारोबार पहिचान, वास्तविक धनी पहिचान फिल्डमा कार्य गर्ने कर्मचारीलाई सहजै जानकारी हुन जान्छ । प्रत्यक्ष समूह तथा केन्द्र सञ्चालक कर्मचारीलाई सहजै तरीकाले ग्राहक र तिनीहरूको कारोबारको जानकारी हुन जानाले लघुवित्तमा सम्पत्ति शुद्धीकरणको सम्भावना न्यून देखिन्छ । यद्यपि समाजमा रहेका राजनीतिक नेतृत्वकर्ता, उच्च ओहदाका पदाधिकारी, आतंकवादी संगठनका सदस्यहरू, भ्रष्टाचारीहरूले केही लोभलालचमा विपन्न वर्गलाई फसाएर लघुवित्त सेवाको उपयोग गरेर सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी गर्न सक्ने भएकाले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी कार्यमा वित्तीय लगानीजन्य अपराधिक कसुरहरू हुन सक्ने सम्भावना छैन भन्न सकिँदैन ।
लघुवित्तमा सम्पत्ति शुद्धीकरण निवारण प्रक्रिया कार्यान्वयनमा चुनौती र अवसर
सानो पूँजीमा जेनतेन सञ्चालनमा रहेका लघुवित्त संस्थाहरूमा सम्पत्ति शुद्धीकरण लागतको हिसाबले चुनौती नै हुन जान्छ । सम्पत्ति शुद्धीकरणका प्रक्रियाहरू सञ्चालन गर्न छुट्टै एकाइ तथा विभाग, कर्मचारी, कम्प्युटरमा आधारित सूचनाप्रणाली, विभिन्न सूचीहरूको अद्यावधिक र सबै कारोबार, कागजपत्र डिजिटलाइज गर्न आवश्यक जनशक्ति, स्रोतसाधनको व्यवस्था गर्न पर्ने हुन्छ । यस्ले लघुवित्तको सेवा लागत थप वृद्धि हुन जान्छ । विपन्नहरू मुख्य ग्राहक भएकाले ग्राहक पहिचान, सम्पुष्टिका लागि वित्तीय संस्थाले पटकपटक माग गर्ने विभिन्न कागजात र विवरणले उनीहरूलाई वित्तीय संस्थासँगको कारोबारमा लागत बढ्ने, समय धेरै लाग्नाले ज्याला नोक्सान हुन जाने देखिन्छ । फलस्वरूप विपन्न वर्गहरू औपचारिक वित्तीय संस्थाको विकल्पमा अनौपचारिक वित्तीय कारोबारप्रति नै आकर्षित हुन जाने अर्को चुनौती देखिन्छ । नेपालजस्तो वित्तीय सेवाको पहुँच र वित्तीय सेवामा समावेशीकरणमा थप वृद्धि गर्न आवश्यक रहेको देशमा विपन्नका लागि सञ्चालित लघुवित्त वित्तीय संस्थामा सम्पत्ति शुद्धीकरण निवारण कार्य प्रक्रिया चुनौतीका रूपमा देखा पर्छ कि ?
लघुवित्त संस्थामा सम्पत्ति शुद्धीकरण ऐन तथा नियमावलीको परिपालना तथा कार्यान्वयनमा शुरूका दिनमा केही चुनौती देखिए तापनि दीर्घकालमा संस्थालाई अरू थप सबल बनाउनेमा दुविधा देखिँदैन । ग्राहक पहिचान लघुवित्तको सिद्धान्त र सम्पत्ति शुद्धीकरण ऐन, नियमावली बमोजिमपूर्ण पालनाले विनाधितो कर्जा कारोबारमा गलत मनसाय राख्ने ग्राहकहरूको पहिचान गरी छनोट गर्न सहजता हुन जान्छ । वास्तविक रूपमा कर्जाको सदुपयोग गरी उद्यम कार्य गर्नेहरूले मात्रै वित्तीय सेवा पाउँदा हाल समाजमा लघुवित्त संस्थाप्रतिको अफवाह, आरोप, लाञ्छनाहरूमा न्यून भई स्वतः समाधान हुनेछन् । शुरूमा ग्राहक पहिचान प्रक्रिया पूरा गरेर ग्राहक स्वीकार गर्ने गर्दा केही लागत वृद्धि हुने र झन्झटिलोे हुने, थप समय लाग्ने देखिए पनि वास्तविक ग्राहक पहिचान गर्न यसले सहयोग पुर्याउँछ । यस्ले कर्जा दुरुपयोग, समूह तथा केन्द्रमा धेरै सदस्यलाई कर्जा लिन लगाएर टाठोबाठो, उच्च ओहदाको एकै जनाले सबै कर्जा उपभोग गरी सिदासादा सदस्यलाई लोभलालचामा पारेर दुःख दिने, बेइमान गर्ने समस्यालाई समाधान गर्न सहयोग पुग्ने देखिन्छ ।
ग्राहक सदस्य समूह र केन्द्र तथा संस्थामा प्रवेश गर्दा नै सदस्य र निजका घरपरिवारको पेशा, आय, कार्यप्रकृति अनुमानित मासिक तथा वार्षिक कारोबार, अधिकतम कारोबार सीमा, कारोबार प्रकृति स्वघोषणा गराई अभिलेख गरिन्छ । जसबाट आफ्नो स्वघोषणा, ऐन कानून तथा नीतिनियमअनुसार शंकास्पद कारोबारको पहिचान गर्न सकिने हुन्छ । फलस्वरूप लघुवित्त सेवाप्रदायकले ग्राहकको कर्जा अनुशासन र कारोबारको प्रकृतिअनुसार कर्जा प्रस्ताव स्वीकृत गर्न थप पृष्ठपोषण हुन जान्छ । यसबाट भविष्यमा कर्जा गुणस्तर राम्रो गराउनसमेत सहयोग पुग्ने देखिन्छ ।
सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा कमजोर कार्यसम्पादन प्रदर्शन गरेको भन्दै वित्तीय कारबाही दल (एफएटिएफ)ले नेपाललाई कालो सूचीभन्दा एक तह तलको खैरोसूचीमा समावेश गरेपछि देशको लागि ठूलो चुनौती देखापरेको छ । यस अवस्थामा देशमा विद्यमान ऐन, कानून नियमावली तथा नियामकीय निर्देशनको शतप्रतिशत पालना गर्नुगराउनु अनिवार्य रहेको छ । वित्तीय सेवाको पहुँच वृद्धिको हिसाबले देशकै महत्त्वपूर्ण र धेरै घरधुरीमा सेवा पुर्याएको लघुवित्तमा सम्पत्ति शुद्धीकरण निवारणको प्रक्रियाको पालन पूर्णरूपमा हुन आवश्यक छ । महिला सशक्तीकरण, वित्तीय साक्षरता विस्तारसँगै वित्तीय सेवाको पहुँचको विस्तारमा लघुवित्त सेवाले समाजमा हुने अनौपचारिक वित्तीय सेवाग्राही तथा कारोबारलाई औपचारिक वित्तीय संस्थामार्फत प्रवाह हुने वित्तीय सेवाग्राहीमा परिणत गर्दै देशमा गरिबी न्यूनीकरण गर्नमा ठूलो योगदान गरेको छ । लघुवित्त सेवामा सम्पत्ति शुद्धीकरण निवारणका लागि गरिने कार्यले समाजमा सुसंस्कार, सुप्रवृत्ति र कानूनसम्मत कारोबार गर्ने सुसंस्कृतिका साथै समुदायमा सुव्यवहारको विकास हुनेछ । देश कालोसूचीमा सूचीकृत भएमा देशको अर्थतन्त्रमा पर्ने समस्यालाई दूरदृष्टिले हेरी खैरोसूचीबाट बाहिर ल्याउन नेपाल सरकारले अगाडि सारेको कार्ययोजनाअनुसारका कार्य सम्पादन गरी विगतमा गरीबी न्यूनीकरण, स्वरोजगार, रोजगार र उद्यमशीलता वृद्धिमा पुर्याएको योगदानजस्तै लघुवित्त सेवाप्रदायक संस्था, लघुवित्तकर्मी र सेवाग्राहीले सम्पत्ति शुद्धीकरण निवारणका सबै कार्य प्रक्रिया विद्यमान ऐन, कानून, नियमावली र निर्देशनअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गरेर उल्लेखनीय योगदान गर्नु आजको आवश्यकता र अवसर दुवै हो ।
लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा लामो अनुभवप्राप्त अधिवक्ता तथा मेलमिलापकर्ता हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।