काठमाडौं । प्रभु ग्रुप्सअन्तर्गतको सहायक कम्पनी प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित सिद्धार्थ केवलकार लिमिटेडले काठमाडौं तीनकुनेमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको छ ।
कम्पनीले आगामी दिनमा सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना अनुरूप व्यापार प्रवर्द्धन तथा बजारीकरणलाई सहज बनाउन कार्यालय स्थापना गरेको जनाएको छ ।
गत भाद्र १९ गतेदेखि सञ्चालनमा आएको सिद्धार्थ केवलकारमा हालसम्म १० महीनाको अवधिमा २ लाख ७५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गरिसकेको कम्पनीले जानकारी दिएको छ । यात्रुहरूमा स्वदेशी र विदेशीको संख्या लगभग बराबरी रहेको कम्पनीको भनाइ छ।
यो केवलकार भगवान गौतम बुद्धका कुलगुरुको आश्रमदेखि पाल्पा जिल्लाको नुवाकोटस्थित भैरवकामना मन्दिरसम्म सञ्चालन छ । प्रतिघण्टा ७०० यात्रु बोक्ने क्षमता रहेको यस केवलकारमा विशेषगरी गौतम बुद्धका अनुयायीहरू आकर्षित हुने गरेको कम्पनीको भनाइ छ ।
कार्यालय उद्घाटनका अवसरमा कम्पनीका सञ्चालक ई. रमेश प्रसाद सापकोटाले वैदिक विधिबाट कार्यालय उद्घाटन पूजा गरेका थिए । प्रभु ग्रुप्सका अध्यक्ष भोजकुमार खड्काले प्रमुख अतिथिको रूपमा कार्यालयको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा कम्पनीका सञ्चालक तथा शेयरधनीहरूको उपस्थिति रहेको थियो ।
कम्पनीले आफ्नो आगामी योजनाअन्तर्गत नुवाकोट गढी पर्यटन कम्पनी, ऋषि कालदेवल पर्यटन कम्पनी र हिलसाइड भिलेज रिसोर्टलगायत थप तीन कम्पनी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
कम्पनीले दुई केवलकार परियोजना निर्माणको विभिन्न चरणमा रहेको जानकारी दिएको छ । कम्पनीका अनुसार साढे ३ अर्ब रुपैयाँको लगानीमा इच्छाकामना देवी केवलकार परियोजना र ५ अर्ब रुपैयाँको लगानीमा बडीमालिका केवलकार परियोजना निर्माणको विभिन्न चरणमा रहेका छन् ।
कम्पनीले यी परियोजनामार्फत पर्यटकीय गतिविधिहरू विस्तार गर्ने लक्ष्य लिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।