तीनकुनेमा खुल्यो सिद्धार्थ केवलकारको केन्द्रीय कार्यालय

Share News

काठमाडौं । प्रभु ग्रूप्सको सहायक कम्पनी प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित बुटवलको सिद्धार्थ केवलकार लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको तीनकुनेमा स्थापना गरेको छ । शेयरधनी एवं सञ्चालकहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको उद्‌घाटन प्रभु ग्रूप्सका अध्यक्ष भोजकुमार खड्काले गरेका थिए भने कम्पनीका सञ्चालक ई. रमेशप्रसाद सापकोटाले वैदिक विधिअनुसार पूजागरी कार्यालयको शुभारम्भ गरेका थिए ।

गत भदौ १९ गते सञ्चालनमा आएको केबलकारमा १० महिनामा २ लाख ७५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गरिसकेका छन् । कम्पनीका अनुसार केबलकार यात्रा गर्नेहरूमा स्वदेशी र विदेशी करीब बराबरजस्तै रहने गरेका छन् । भगवान गौतम बुद्धका अनुयायीहरूले अत्यधिक यात्रा गर्ने यो नेपालको बौद्ध धर्मावलम्बीलक्षित केबलकार परियोजना हो । यो केबलकार भगवान गौतम बुद्धको कुलगुरुको आश्रम र पाल्पा जिल्लाको नुवाकोटस्थित पुरानो भैरवकामना मन्दिरमा जाने गर्छ । केबलकारमा प्रति घण्टा ७०० यात्रुहरूले यात्रा गर्न सक्छन् ।  

प्रभु केबलकारको अरु थप दुईवटा केवलकार परियोजना निर्माणका चरणमा रहेका छन् । जसमा इच्छाकामना देवी केवलकार परियोजना रु. ३५० करोड लगानीको हुनेछ भने बाजुरा जिल्लास्थित बडिमालिका केबलकार परियोजना रु. ५०० करोडको हुनेछ । कम्पनीले निकट भविष्यमा सार्वजनिक शेयर निष्कासन गर्ने योजना बनाएको छ । सार्वजनिक शेयर निष्कासन सहज बनाउनुका साथै व्यापार प्रवर्द्धन एवं बजारीकरण गर्न कम्पनीले काठमाडौंमा केन्द्रीय कार्यालय स्थापना गरेको जनाएको छ । कम्पनीअन्तर्गत नुवाकोटगढी पर्यटन कम्पनी, ऋषि कालदेवल पर्यटन कम्पनी र हिलसाइड भिलेज रिसोर्टसहित थप तीनओटा कम्पनी सञ्चालनमा आउने तयारीमा रहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।