काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल-चीन सिमानाको रसुवामा पर्ने भोटेकोशी (ल्हेन्दे खोला)मा आएको बाढीको असर त्रिशूली नदीको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकाले त्यस क्षेत्रवरपरका सबैसँग सतर्क रहन आग्रह गरेको छ ।
प्राधिकरणले गएराति नारायणी नदी जलाधारको त्रिशूली उपजलाधारअन्तर्गत भोटेकोशीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको जनाएको छ । भोटेकोशीको रसुवा-स्याफ्रुवेसी जलमापन केन्द्रमा आज विहान ३:३० बजे बाढी पुगेको र उक्त बाढी विहान ५ बजे त्रिशूलीस्थित वेत्रावती पुगेको देखिएको जनाइएको छ । वेत्रावती केन्द्रमा पानीको बहाव करीब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको पनि प्राधिकरणले जनाएको छ ।
प्रारम्भिक रुपमा यो बाढीको प्रभाव त्रिशूली नदीको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गरिरहेको र बाढीको सम्भावित कारणको अध्ययन शुरु गरेको पनि जनाइएको छ ।
आज विहानको मापनअनुसार कोशी, महाकाली, कमला, वागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव भने सतर्कता तहभन्दा तल रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, स्याङ्जा, बागलुङ, पर्वत र आसपासका जिल्ला भई वहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउनसक्ने पूर्वानुमान गरेको छ ।
साथै महाशाखाले दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ र आसपासका जिल्ला भई वहने साना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढी आउनसक्ने पूर्वानुमान गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।