काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।
हाल बैंकको कुल चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । चुक्तापूँजीमा ७२ दशमलव ९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७ दशमलव शून्य १ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।
सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियमबापत थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।
यो एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ । यो अवधिसम्ममा मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिनेछ ।
कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
एफपीओ निष्कासन तथा बाँडफाँटपश्चात् बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा कायम हुनेछ ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।