काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यसअघि असार २२ गतेसम्मको निष्कासन अवधि तय गरेकोमा त्यसमा दुई दिन थप गरी असार २४ गतेसम्म कायम गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । यस आधारमा हाल १ कित्ता शेयर कायम रहेका शेयरधनीहरूले नयाँ १ कित्ता शेयर खरीद गर्न पाउनेछन् ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ५ गतेसम्म कायम शेयरधनीहरू असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एपी इस्यूअर बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले ५ मेगावाट क्षमताको रुकु गाड जलविद्युत आयोजना निर्माणका लागि लिइएको कर्जा भुक्तानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ कायम हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।