अष्ट्रेलियन टप एण्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

तस्वीर सौजन्य : नेपाल क्रिकेट एशोसिएशन (क्यान) ।

Share News

काठमाडौँ । अष्ट्रेलियामा आयोजना हुने अष्ट्रेलियन टप एण्ड टी–२० शृंखलाको खेलतालिका सार्वजनिक भएको छ । 

अष्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी)ले आज सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल आगामी साउन ३० गते (अगस्ट १५) अष्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ । समूह चरणमा नेपाली क्रिकेट टोलीले ६ खेल खेल्नेछ । लिग चरणको अंकतालिकाको शीर्ष चारमा रहने टोलीहरूबीच सेमिफाइनल खेलाइनेछ ।

डार्विनमा साउन २९ गतेदेखि भदौ ८ गते (अगस्ट १४-अगस्ट २४) सम्म आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल साउन ३१ (अगस्ट १६) मा बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ । नेपालले आगामी भदौ २ (अगस्ट १८) मा मेलबर्न स्टार्सविरुद्ध तेस्रो खेल खेल्नेछ ।

नेपाली टोलीले चौथो खेलमा भदौ ३ (अगस्त १९) मा होबर्ट हरिकेन्सविरुद्ध प्रतिष्पर्धा गर्नेछ ।  नेपालले शृंखलामा आफ्नो पाँचौँ खेल भदौ ४ (अगस्ट २०) मा मेलबर्न रेनिगेड्सविरुद्ध खेल्नेछ भने अन्तिम खेल भदौ ६ (अगस्ट २२) मा पाकिस्तान ‘ए’ विरुद्ध खेल्नेछ ।

सिरिजमा कुल ११ टोलीले प्रतिष्पर्धा गर्ने छन् । सिरिजमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान गरी ४ ओटा अन्तरराष्ट्रिय टोलीले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट लीग ‘बिगबास’ (बीबीएल) का होबर्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार र मेलबर्न रेनिगेड्स टोलीका एकेडेमी टोलीलगायतले पनि प्रतिष्पर्धा गर्ने छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एशिया तथा इष्ट एशिया-प्यासिफिक छनोटको तयारीस्वरुप नेपाली टोली अष्ट्रेलियामा आयोजित यो प्रतियोगितामा सहभागी हुने भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।