काठमाडौं । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म धितोपत्र दोस्रो बजारमा सूचीकत कम्पनीको संख्या २७२ पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महीनाको तथ्याङ्क अनुसार उक्त संख्यामा दोस्रो बजारमा कम्पनीहरू सूचीकृत भएका हुन् ।
कुल सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू छन् भने ९१ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी, ४ व्यापारिक, ८ अन्य समूहका कम्पनी छन् । गत वर्षको जेठसम्म दोस्रो बजारमा सुचीकृत कम्पनीको संख्या २७० थियो ।
दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२ दशमलव १ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
त्यस्तै, जलविद्युतको १६ दशमलव १ प्रतिशत, लगानीको ८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ५ प्रतिशत, व्यापारिकको ५ दशमलव ३ प्रतिशत, होटलको २ दशमलव ८ प्रतिशत र अन्य समूहको १० दशमलव २ प्रतिशत हिस्सा रहेको हो । यस अवधिसम्म दोस्रो बजारमा सूचीकृत ८ अर्ब ८० करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ६७ अर्ब २९ करोड रहेको छ ।
चालू आर्थिक वर्षको ११ महीनासम्म कुल ६३ अर्ब ५० करोड बराबरको धितोपत्र सूचीकृत भएको देखिन्छ । यस अवधिमा २३ अर्ब ६३ करोड रुपैयाँको बोनस शेयर, २२ अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण शेयर, १२ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपेयाँ बराबरको अन्य धितोपत्र निष्कासन भएको राष्ट्र बैंकको तथ्याङ्कले प्रष्ट पारेको छ ।
नियामक निकाय धितोपत्र बोर्डले यस अवधिसम्म ३९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनका लागि स्वीकृति दिएको छ ।
राष्ट्र बैंकका अनुसार बोर्डले यस अवधिसम्म १४ अर्ब ९५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १३ अर्ब बराबरको म्युचुअल फण्ड, ८ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र र २ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।