काठमाडौं । नेपाल–चीन सीमास्थित ल्हेन्देखोलामा आएको विनाशकारी बाढीले गर्दा उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएसँगै उक्त नाकाबाट चीनसँग हुने व्यापार विच्छेद भएको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएपछि त्यहाँबाट हुने चीनसँगको व्यापार ठप्प भएको हो । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महीनाको व्यापार आँकडाअनुसार यस नाकाले नेपालको कुल आयातको करीब ५ प्रतिशत अंश ओगट्ने गरेको छ ।
भन्सार विभागको चालू आवको जेठसम्मको तथ्यांकअनुसार यो नाका हुँदै कुल आयातको ४ दशमलव ९२ प्रतिशत (८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबर) को सामान आयात भएको छ भने निर्यात करीब २ अर्ब रुपैयाँको छ । नाका ठप्प भएसँगै यसले लामो समयसम्म नेपाल चीन व्यापारमा असर गर्न सक्ने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
यो नाकाले चीनबाट हुने जम्मा आयातको करीब २६ प्रतिशत र चीनबाट स्थलमार्गवाट हुने आयातको ६३ प्रतिशत ओगटेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । भूकम्प र कोरोना महामारीका कारण लामो समय बन्द रहेको रसुवागढी र तातोपानी नाकाबाट केही वर्षयता व्यापार बढिरहेको थियो । हाल चीनबाट स्थल नाकाबाट करीब ४१ प्रतिशत आयात हुने गरेको राष्ट्र बैंकले बताएको छ ।
रसुवा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बाढीको क्षति हेर्दा लामो समयसम्म यो नाकाबाट हुने व्यापार सम्पर्क टुट्न सक्ने देखिएको बताए । त्यस्तै कैलास मानसरोवर जाने नेपाली तथा भारतीय तीर्थयात्रीमध्ये धेरैले त्यही नाका प्रयोग गर्दै आएका थिए । बाढीले दुई देशबीचको मितेरी पुल र सुक्खा बन्दरगाहमा व्यापक क्षति पुर्याएकाले सामान्य व्यापार सुचारु हुन समय लाग्ने देखिएको छ ।
गाडी आयात कठिन
उक्त बाढी रसुवागढीको सुक्खा बन्दरगाहमा रहेका केही थान गाडी बगाएर लगेको जिल्ला प्रशासन कार्यालय, रसुवाले बताएको छ । मितेरी पुलसमेत बगाएर नाका नै विच्छेद भएका कारण रसुवागढी नाकाबाट हुने अटोमोबाइल आयातमा असर पर्ने देखिएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।
एशोसिएशनका अध्यक्ष करण चौधरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीले भन्सार परिसरमा रहेका र निर्माणाधीन सुक्खा बन्दरगाहसहित पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ । नाडा, सहकोषाध्यक्ष पंकज अग्रवालले पार्किङ गरिएका धेरै गाडी बगाएको अनुमान आफ्नो रहेको बताए ।
‘ठ्याक्कै कति बगे त्यसको रिपोर्ट सरकारले सार्वजनिक गर्ला नै । उक्त बाढीका कारण अटो क्षेत्रमा ठूलो क्षति पुगेको छ,’ उनले भने । ‘ती गाडीहरू भन्सार जाँचपास गरेर ल्याउने क्रममा थिए । तर, आइतवार बिहान चीनतर्फबाट एक्कासि आएको बाढीले ती ईभीहरू बगाएको हो ।’
उनका अनुसार अब रसुवागढी हुँदै तत्काल गाडी आयात गर्न सम्भव छैन । तातोपानीबाट चिनियाँ त्यस्ता गाडी भित्र्याउनका लागि अबका दिनमा कूटनीतिक पहल हुनुपर्छ । ‘सरकारले चिनियाँ पक्षसँग कुराकानी गरिदिनुपर्यो । सहज रूपमा आयात गर्न सक्ने वातावरण बनाइदिनुपर्यो,’ उनले भने ।
नाडाका अनुसार आसन्न नाडा अटो शोका लागि धेरैजसो गाडी ल्याइसकिएको छ । केही नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राख्नका लागि बाढीपहिरो बाधक बन्ने देखिएको छ । चाँडो नाडा अटो शोका साथै दशैं, तिहारजस्ता ठूला चाडपर्व आउन लागेको र ती पर्वमा गाडीको बुकिङ पनि उत्साहजक तवरले हुने भएकाले आयात सहज हुनुपर्ने नाडाका पदाधिकारीहरूको भनाइ छ । लत्ता कपडा, फलफूलदेखि विद्युतीय सामानमा १० देखि १२ प्रतिशतसम्म महँगी बढ्न सक्ने र सामान अभाव हुन सक्ने हिमालय सीमापार व्यापार संघका महासचिव रामचन्द्र पराजुलीले जानकारी दिए ।
नेपालतर्फको भन्सारमा रहेका घरायसी सामान, लत्ताकपडा र विद्युतीय सामग्री बोकेका २४ ओटा कन्टेनर बाढीले बगाएको छ भने चीनतर्फ पनि सोही हाराहारीमा कन्टेनरहरू डुबेका छन् । लत्ताकपडा बोकेको एउटै कन्टेनरको क्षति करीब ४ करोड रुपैयाँ हुने व्यवसायी बताउँछन् । विद्युतीय सामानको एउटै कन्टेनर १० करोड पर्न जान्छ । यसले गर्दा अर्बौं रकमको क्षति भएको अनुमान छ । अब तातोपानी नाका प्रयोग गर्दा लागत झन् बढ्ने र यसले महँगी बढेर उपभोक्ता मारमा पर्ने देखिन्छ ।
२४० मेगावाट विद्युत् उत्पादन बन्द
रसुवामा आएको बाढीका कारण २४० मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ ।
नुवाकोटको किस्पाङ गाँउपालिका–५ पैरेबेशीँमा रहेको त्रिशूली–काठमाडौँ प्रसारण लाइनको सबस्टेशन । त्रिशूली नदीमा आएको बाढीको बहावले कटान गरेर उच्च जोखिम बनाएसँगै उक्त सबस्टेशनका कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ भने सबस्टेशन बन्द गरिएको छ । तस्वीर : रासस ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको बताए ।
उनका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र ६० मेगावाटको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्रिशूली थ्री बी हब सबस्टेशन सबैभन्दा बढी जोखिममा रहेको छ ।
सबैभन्दा बढी क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको छ । यस आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको र आयोजनाको टेलरेसमा पनि गेग्रान थुप्रिएको उनले बताए ।
पुरानो त्रिशूली जलविद्युत् आयोजनालगायत अन्य निजीक्षेत्रका आयोजनाहरूमा पनि क्षति पुगेको भन्ने खबर आए पनि पुष्टि नभएको उनले बताए ।
१९ जना बेपत्ता र ९ जनाको शव फेला
बाढीका कारण मंगलवार बेलुकासम्म केही चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको र ९ जनाको शव फेला परेको छ । ५७ जनाको उद्धार गरिएको नेपाल प्रहरीले मंगलवार साँझ ८ बजे जनाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । बाढीबाट गोसाइँकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाका विभिन्न वडा प्रभावित भएका छन् । बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अन्य गाडीहरू बगाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।