आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले डिजिटल पूर्वाधार विस्तार गर्न वर्ल्डलिंकलाई करिब ४ अर्ब लगानी गर्ने

Share News

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधार विस्तार गर्न इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडबीच २९ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ९८ करोड रुपैयाँ) लगानी गर्ने सम्झौता भएको छ । 

यो लगानीले नेपालको फाइबर नेटवर्क विस्तार गर्ने र देशभर डेटा सेन्टर स्थापना गर्ने लक्ष्य राखेको छ । यसले समावेशी विकास प्रवर्द्धन गर्ने र देशभर डिजिटल पहुँच पुर्याउने लक्ष्य राखेको छ  ।

उच्चगतिको इन्टरनेटको पहुँच विस्तार गर्दै, देशका दुर्गम क्षेत्रहरूलाई फाइबर अप्टिक नेटवर्कमा जोड्ने र आधुनिक डेटा प्रोसेसिङ पूर्वाधार तयार गर्न लगानी साझेदारी अघि बढाइएको जनाइएको छ ।

विश्व बैंक समूहको सदस्य रहेको आईएफसी विकासशील देशका बजारमा निजी क्षेत्रलाई लक्षित गरी लगानी गर्ने वित्तीय विकास संस्था हो ।
सन् १९९५ मा स्थापित वर्ल्डलिंक कम्युनिकेसन्स नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो  । कम्पनीले १० लाखभन्दा बढी घरपरिवार र हजारौं व्यवसायलाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले देशभर दुर्गम तथा कम पहुँच भएका क्षेत्रहरूसहित ७ हजार ५०० भन्दा बढी स्थानमा फाइबर नेटवर्क विस्तार गरेको छ  । देशका प्रमुख शहरहरूमा निःशुल्क वाईफाई हटस्पट पनि स्थापना गरेको वर्ल्डलिंकले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५ हजार ५०० भन्दा बढीलाई रोजगारी दिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तरराष्ट्रिय बैंक हो जसले क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट आईसीआरएएनपी-आईआर एएए++  रेटिङ पाएको छ । यो रेटिङले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई वित्तीय दायित्व पूरा गर्न सक्ने सबैभन्दा सुरक्षित बैंकका रूपमा चिनाएको छ।

वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवाल भन्छन्‚ “हामी कनेक्टिविटी नै अवसरसम्म पुग्ने पुल हो भन्नेमा हामी विश्वास गर्छौं । आईएफसी र स्ट्यान्डर्ड चार्टर्डसँगको यो रणनीतिक साझेदारीले त्यो पुललाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ । हाम्रो यो सहकार्य सशक्त डिजिटल समाज निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रमाण हो ।”

वर्ल्डलिंकले देशभर अत्याधुनिक डेटा सेन्टरहरू निर्माण भइरहेको जनाएको छ । ती डेटा सेन्टरमा एज प्रमाणित सुविधाहरू समावेश हुनेछ ।

आईएफसीका दक्षिण एशियाली क्षेत्रीय निर्देशक इमाद एन. फाखुरी भन्छन्, “यो लगानीले नेपालको १६औँ पञ्चवर्षीय योजना र डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य पूरा गर्न सघाउँछ, जुन लक्ष्यले सहज इन्टरनेट पहुँच, एकीकृत पूर्वाधार विकास र प्रविधिको माध्यमबाट सामाजिक–आर्थिक प्रगति सुनिश्चित गर्न खोजेको छ । आईएफसी यस डिजिटल रूपान्तरण र आर्थिक वृद्धिमा सहयोग गर्न पाउँदा गर्व अनुभूत गर्दछ ।”

ईएफसीको लगानीमा वर्ल्डलिंकले कार्यक्षेत्रमा महिलाको सहभागिता बढाउने लक्ष्य लिएको छ, जसले समावेशी रोजगारीका विश्वव्यापी रणनीतिहरूसँग तादाम्यता राख्छ ।

आईएफसीका एशिया–प्रशान्त क्षेत्रका पूर्वाधार तथा प्राकृतिक स्रोत विभाग निर्देशक विक्रम कुमार भन्छन्, “नेपालको डिजिटल क्षेत्रमा नवप्रवर्तन र अवसरको अपार सम्भावना छ । यसको पूर्ण लाभ लिन ग्रामीण क्षेत्रहरूमा डिजिटल पहुँच, विशेषगरी फिक्स्ड ब्रोडब्यान्ड पूर्वाधार विस्तार गर्न आवश्यक छ । डेटा सेन्टर पूर्वाधारले यो परिवर्तनलाई सघाउनेछ, जसले राष्ट्रिय प्राथमिकता भएका क्षेत्रहरूमा समावेशी रोजगारीको अवसर बढाउन सम्भव बनाउनेछ ।”

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड नेपालका प्रमुख गोरख राणाले वर्ल्डलिंक र यसको सहायक संस्था डेटा वर्ल्ड, आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीचको यो ऐतिहासिक सहकार्य नेपालको डिजिटल पूर्वाधार सशक्त बनाउने एउटा महत्त्वपूर्ण कदम भएको बताए । उनले भने, “डिजिटल पूर्वाधारमा लगानी गरेर हामी इन्टरनेट पहुँच र डेटा सेन्टरको क्षमता राष्ट्रिय स्तरमा विस्तार गर्न चाहन्छौं, जसले नेपालको पहुँच विश्वव्यापी अवसरहरूसँग जोड्नेछ ।”

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।