काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले साउन २३ गते २९औं वार्षिक साधारण सभा गर्ने भएको छ । असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय तीनकुने, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँको आधारमा १८ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । २८औं वार्षिक साधारण सभाबाट कम्पनीले ५० दशमलव १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
१८ प्रतिशत बोनश शेयर वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकाले ५० दशमलव १५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव संशोधन गरी ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कम्पनीलाई २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यसका लागि कम्पनीले बोनस शेयर र हकप्रद शेयरको प्रस्ताव अघि सारेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।