काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ भने एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हलुकादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा महाशाखाले अनुरोध गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।