गलकोट । अविरल वर्षाका कारण मंगलवार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु १ अर्ब ४ करोड बराबरको क्षति गरेको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति गरेको छ ।
जलविद्युत् आयोजना बगाउँदा झन्डै रु २ करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । केन्द्रीय विद्युत् प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति गरेको छ । आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले सोही ठाउँमा रु ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ ।
त्यस ठाउँको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । वार्षिक ८ सयदेखि १ हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताए । बाढीका कारण ६ घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको बताइएको छ । बाढीले ठेउलेका ५ घर जोखिममा परेका छन्, २ गोठमा पूर्ण क्षति भएको छ ।
टेकबहादुर र खड्कबहादुरको गोठमा क्षति गरेको छ । टेकबहादुरको एउटा गोरु मरेको छ । बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ । त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब रु १ अर्ब १ करोड बराबर क्षति भएको अनुमान गरिएको उपप्रमुख शर्माले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।