काठमाडौं । केही महीना भारत निर्यात रोकिएपछि लोकप्रिय गोल्डस्टार ब्रान्डको जुत्ता उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्स प्रालिको सञ्चालन आय प्रभावित भएको क्रेडिट रेटिङ एजेन्सी–इन्फोमेरिक्सले बताएको छ ।
बुधवार सार्वजनिक गरिएको क्रेडिट रेटिङ रिपोर्टका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को प्रथम ६ महीनामा कम्पनीको आय ७९ करोड ६० लाख रुपैयाँ कायम भयो । अघिल्लो आव २०८०/८१ मा कम्पनीको आय २ अर्ब २२ करोड रुपैयाँ थियो ।
‘यो गिरावटको प्रमुख कारण भनेको भारतले लागू गरेको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्रको अनिवार्यतापश्चात् करीब ३–४ महीनासम्म निर्यात रोकिनु हो, जुन कम्पनीको प्रमुख निर्यात बजार हो,’ इन्फोमेरिक्सले आफ्नो प्रतिवेदनमा भनेको छ । तर, चालू आवको चैतसम्म कम्पनीले करीब १ अर्ब २९ करोड रुपैयाँ बराबरको सामान अर्डर पाएको छ जसका कारण आयमा सुधार हुने अपेक्षा रहेको छ ।’
कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले केही महीना निर्यात रोकिँदा कम्पनीको आयमा धेरै असर गरेको बताइन् । ‘म्यानुफ्याक्चरिङ उद्योगमा १ दिन मेशिन नचल्दा त समस्या हुन्छ भने महीनौं निर्यात गर्न नपाउँदा कम्पनी धेरै नै प्रभावित भयो,’ उनले भनिन् । भारतले जुत्ता चप्पल, सिमेन्ट र सेनिटरी प्याडलगायत सामान आयातमा बीआईएस अनिवार्य गर्दा नेपालका यस्ता उत्पादन चालू आवको शुरुआतमा रोकिएका थिए । गत पुस महीनामा मात्र किरण सुजले बीआईएस प्रमाणपत्र पाएको थियो । भारतीय अधिकारीहरूले जुत्ता कारखाना भ्रमण गरी प्रमाणपत्र दिन ढिलाइ गर्दा लामो समय निर्यात रोकिएको राणाको भनाइ छ ।
हाल भने निर्यातमा समस्या नरहेको राणाले बताइन् । ‘तर, भारतीय बजारमा चर्को प्रतिस्पर्धा रहेकाले चुनौती भने उच्च छ,’ उनले भनिन् । उनका अनुसार कम्पनीले कुल जुत्ता/चप्पल उत्पादनको ३० देखि ४० प्रतिशतसम्म भारत निर्यात गर्दै आएको छ । विगत केही वर्षयता कम्पनीको आयमा उतारचढाव रहँदै आए पनि ब्याज, कर, मूल्यह्रास र अमूर्त सम्पत्तिको मूल्यह्रास अगाडिको आम्दानी (ईबीआईटीडीए) वृद्धि हुँदै गएको देखिन्छ । इन्फोमेरिक्सका अनुसार आव २०७८/७९ मा इबीआइटीडीए १२ दशमलव ४८ प्रतिशतले बढेकोमा २०७९/८० मा १८ दशमलव ९९ प्रतिशतले बढ्यो । त्यसपछि २०८०/८१ मा यसको वृद्धिदर २२ दशमलव १० प्रतिशत रह्यो ।
बैंक ऋणको ब्याजमा धेरै खर्चनु परेकाले खुद नाफामा सामान्य वृद्धि भएको क्रेडिट रेटिङ एजेन्सीको मूल्यांकन छ । कम्पनीको सामान विक्रीबाट भएको आय कम्पनीमा फर्कन समय लागेकाले कम्पनीले बैंक ऋणमा धेरै भर पर्नुपरेको पक्षलाई कमजोरीका रूपमा औंल्याइएको छ । दश वितरकमा मात्र अधिकांश उत्पादन केन्द्रित भएकाले कम्पनीलाई जोखिम बढेको इन्फोमेरिक्सको मूल्यांकन छ । चालू आवको पहिलो ६ महीनामा कम्पनीको आयको ७८ प्रतिशत यी दश वितरकबाट आएको छ । यो दर २०८०/८१ मा ८४ प्रतिशत थियो । ‘भारतमा जीएफपीएल (इन्डिया) ले कम्पनीका उत्पादनहरूका लागि विशेष वितरक अधिकार प्राप्त गरेको छ, जसले कम्पनीको एकल ग्राहकप्रति निर्भरता अझै बढाएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।