परीक्षा प्रणाली सही नभए शैक्षिक गुणस्तर असम्भव

Share News

हाल नेपालको साक्षरता दर ७७ प्रतिशत पुगेको छ । विश्वविद्यालयतिर उच्च शिक्षामा उत्तीर्ण प्रतिशतलाई विश्लेषण गर्ने हो भने यो विश्वविद्यालय र संकाय पिच्छे तथ्यांक फरकफरक भेटिन्छ । त्रिभुवन विश्वविद्यालयको हालैको उत्तीर्ण प्रतिशत लगभग २०–३० प्रतिशत, काठमाडौं विश्वविद्यालयको लगभग ९० प्रतिशत, पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयको लगभग ५० प्रतिशत र सुदूरपश्चिम विश्वविद्यालयको लगभग २० प्रतिशत देखिएको छ । यसरी हेर्दा साक्षरता दर सन्तोषजनक देखिए पनि माध्यमिकतिर कमजोर तथा उच्च शिक्षातिर झन् दयनीय शैक्षिक अवस्था रहेको देखिन्छ । भएभरका उत्तीर्ण जनशक्ति पनि बजारमा माग भएको जनशक्तिभित्र पर्न धौधौ छ । साक्षर–शिक्षित दुवै विदेशिने बाध्यता कायम छ । शिक्षाका लागि ऋण, स्टार्टअपको सरकारी योजना र सिद्धान्त पनि प्रभावकारी हुन सकेको छैन । स्नातक, स्नातकोत्तर गरेका युवायुवती खरीदार बन्न घोक विद्यामा लागेका छन् भने निजीतिर १५ हजारदेखि १८ हजार प्रतिमहीना तलबमानमा काम गर्न बाध्य छन् । यस्तोमा रोजगारदाता संगठनमा श्रम ऐन, २०७४ कत्तिको अनुगमन भएको होला अनुमान गर्न सकिन्छ । कुनै देश सखाप पर्न आणविक वा जैविक युद्ध पनि चाहिँदैन, त्यहाँको शिक्षाप्रणाली ध्वस्त पारे पुग्छ । विद्या जति घोके र खेत जति खने उत्तम भन्ने कुरा अब पुरानो भइसक्यो । अब त विद्या व्यावहारिक भए मात्र काम लाग्छ ।

कसैले कुनै पनि तरीकाले परीक्षामा छल गरी लेखेर आउँछ भने उसले झूटो दाबी गरी प्रमाणपत्र मात्र संकलन गर्न खोजेको हो, उसलाई आफ्नो शीप र गुणस्तरसँग केही सरोकार छैन । त्यस्तो जनशक्तिले देश–विदेश कतै पनि आफ्नो शैक्षिक प्रमाणपत्रलाई प्रतिष्ठा दिलाउन सक्दैन । पढाइ र परीक्षा दुवै साथै परिमार्जन हुने कुरा हो । तर, नेपालको हालको शैक्षिक अवस्थाले त्यस्तो दर्शाउँदैन । संघीय तथा प्रदेशस्तरीय शिक्षा नीति बनाउने सुविधा छ, स्थानीय सरकार सम्मको अनुगमन र नियन्त्रणको सुविधा छ तर पनि शैक्षिक गुणस्तर बढ्न सकेको छैन । विद्यालय स्तरबाट नै शैक्षिक अव्यावहारिकता भेटिएको छ । यसको परिणामस्वरूप उच्च शिक्षा बिग्रिन्छ । कम्प्युटर तथा कृत्रिम बुद्धिमत्ताको अभ्यास गरिरहेको विश्वव्यापीकरण शैक्षिक परिस्थितिमा हामी अहिले पनि अन्तिम परीक्षामा घोकन्ते पठनबाट जसरी पनि पास हुने शैलीमा अभ्यासरत छौं ।

शिक्षाको उद्देश्य जागरूकता, सक्षमता अभिवृद्धि गर्नु हो । सेमेस्टर प्रणाली र ग्रेडिङ आयो तर विद्यार्थीलाई आन्तरिक मूल्यांकन दिने मापदण्ड र नैतिकता विकसित हुन सकेन । प्रतिशत शैली होस् वा त्यसलाई आधार बनाइ निर्माण गरिएको ग्रेडिङ शैली, दुवैले देखाउने भनेको विद्यार्थीको अन्तिम मूल्यांकन मात्र हो । यसले जनशक्तिको उत्पादकत्व मूल्यांकन गर्न सकिँदैन । 

उत्तीर्णको संख्या बढोस्, देशको साक्षरता सूचकांक माथि देखियोस् भनेर नेपालमा परीक्षा प्रणाली र पाठ्यक्रम सहज बनाइएको हो । अनि कसरी जनशक्ति सबल र उत्पादनमुखी हुन्छ त ? विश्वविद्यालयहरूलाई विद्यार्थी भर्ना पुगिरहेको छैन । प्रावि, निमावि र मावि स्तरीय पाठ्यक्रममा समयसापेक्ष केही व्यावहारिकता देखिएको छैन । आन्तरिक मूल्यांकनले विद्यार्थी पास भयो, विद्यालयको भर्ना बढाउन पर्याप्त हुनेछ । कतिपय शिक्षकले कम्प्युटर, प्रविधिसमेत प्रयोग गर्न जानेका छैनन् अनि विद्यार्थी एआईको माध्यमले उत्तर लेखेर कक्षामा प्रस्तुत भएको घटनाहरू पनि नेपालमा भेटिएका छन् । १० सेकेन्डमा भिडियो मन परे अर्को भिडियो सर्काउने यो नव पुस्तालाई अहिले पनि पुरानो शैलीमा १ घण्टा वा ४० मिनटको कक्षामा खाली सैद्धान्तिक कुरा पढाएर अब साध्य छैन । अब प्रत्येक कक्षामा प्रत्येक दिन विद्यार्थीको मूल्यांकन हुनुपर्छ । आफ्नो भन्दा पनि विद्यार्थीबाट प्रसंगमा प्रस्तुति आउन दिनुपर्छ । कुनै पनि संकाय, कुनै पनि विषयमा अन्तिम परीक्षा मात्रलाई जोड दिने कार्य शिक्षकबाट पनि बन्द गरिनु पर्यो । विद्यार्थीको मनपर्ने शिक्षक बन्ने लहरमा लगेर पाठका नोटहरू बनाएर बाँड्ने, गेस प्रश्नहरूको मात्र अभ्यास गराउने शैली बन्द गरिनु पर्छ । परीक्षा भनेको प्रत्येक दिनको मूल्यांकनबाट सम्पन्न नभए नेपालको शैक्षिक सुधार अब कठिन छ । शिक्षकको अध्यापन र विद्यार्थीको अध्ययन दुवै परीक्षामै केन्द्रित भएको हुनाले परीक्षा व्यवस्थापन अहिलेको शिक्षाको वास्तविक माग हो । परीक्षाको शैली र प्रश्नपत्रको गुणस्तर जत्ति व्यावहारिक र आधुनिक हुन्छ, शैक्षिक सुधार पनि उत्तिकै तीव्र हुन्छ । प्रश्नपत्र समयसान्दर्भिक तथा विश्लेषणात्मक हुनुपर्छ । तसर्थ परीक्षा प्रणाली दुरूस्त पार्न निम्न कुरामा ध्यान दिनुपर्छ । 

सर्वप्रथम त रट्ने र पास हुने शैलीलाई निरूत्साहित गर्दै समस्या समाधान, सृजनात्मकता, अवधारणा र सिद्धान्त बुझाइअनुरूप प्रश्न दिइनुपर्छ । पाठ्यक्रमका सम्पूर्ण विषयवस्तुहरूलाई वास्तविक जीवन वा पेशासँग सम्बद्ध प्रोजेक्टमा आधारित कार्य दिई मूल्यांकनको आधार बनाइनुपर्छ । उच्च मावि तथा विश्वविद्यालय तहमा खुला किताब अर्थात् ओपन बुक परीक्षाको प्रयोग पनि थालिनुपर्छ । अहिलेको परीक्षा प्रणालीमा अन्तिम परीक्षामा धेरै भर दिइएकाले गृहकार्य, कक्षाकोठा कार्य, अतिरिक्त क्रियाकलाप, समूह छलफल, नाटकीय प्रस्तुतीकरण आदि नियमित मूल्यांकनको आधार बनाई सृजनशीलता बढाउने प्रयास थालिनुपर्छ । पाठ्यक्रम निर्माणमा अनिवार्य रूपले शिक्षक, विज्ञ, अभिभावक तथा विद्यार्थी समावेश गरिनुपर्छ । उक्त पाठ्यक्रमअनुरूप शिक्षक तयार पर्ने, तालिम दिने जस्ता व्यवस्था गरिनुपर्छ ।

शिक्षा समाजको मेरूदण्ड र परीक्षा शिक्षाको मेरूदण्ड भएकाले निरन्तर तथ्यांक विश्लेषण गरेर विद्यार्थीको सिकाइमा सुधार गरिनुपर्छ । शिक्षक–विद्यार्थी प्रविधिमैत्री बनाइनुपर्छ । अहिलेको समय कृत्रिम बुद्धिमत्ता (एआई)को रहेकाले भविष्यमा एआई विश्वव्यापी भरपर्ने साधन हुनसक्ने कुरालाई नकार्न सकिँदैन । तसर्थ, यो एआईबाट भाग्ने होइन कि यसलाई कसरी उत्पादनमुखी प्रयोगमा ल्याउन सकिन्छ तत्सम्बन्धी जानकारी र शीप शिक्षक–विद्यार्थी दुवैले पाउनुपर्छ । प्रश्नप्रत्र निर्माण, नतिजा प्रकाशन, परीक्षा फारम भर्ने, प्रवेशपत्र आदि सबै डिजिटल हुनु जरुरी छ ।

नक्कल गर्ने, प्रश्नपत्र चुहावट हुने, मूल्यांकनमा पक्षपात हुनेजस्ता अमानवीय र गैरकानूनी क्रियाकलापमा अंकुश लगाउन कडा निगरानी र नियम लगाइनुपर्छ । प्रतिशत विधिबाट आएको आधुनिक ग्रेडिङलाई स्वीकार्ने सहज वातावरण निर्माण हुनुपर्छ । अन्तरराष्ट्रिय मापदण्डलाई निरन्तर अध्ययन गरी विद्यार्थीको पास अंक र अन्य विश्वविद्यालय वा शैक्षिक संस्थामा राष्ट्रपिच्छे रहेको न्यूनतम योग्यता अंक बराबर नै राखिनुपर्छ । जस्तै नेपालमा एउटा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण एक विद्यार्थीले न्यूनतम ३५ वा ४० प्रतिशत नै अंक प्राप्त गरेछन् भने नेपालमै अर्को विश्वविद्यालयले उक्त उत्तीर्णलाई स्नातकोत्तरमा अयोग्य ठानी ५०–६० प्रतिशतको न्यूनतम योग्यता अंक माग गर्छन् । अब त्यस्ता विद्यार्थी ४० प्रतिशत ल्याएर खुशी हुने कि अर्को स्नातक फेरि गर्न जाने ? परीक्षा प्रणालीले शीप र ज्ञानको मापन गर्नु पर्छ । तसर्थ, पाठ्यक्रम र परीक्षाबीच समन्वय गरिनुपर्छ ।

राष्ट्रिय परीक्षा बोर्डलाई स्वायतत्ता प्रदान गर्दै विशेषज्ञहरू, सल्लाहकारहरूको समूह सशक्त बनाइनु पर्छ । जबसम्म माविसम्मको शैक्षिक सुधार र आधुनिकता आउँदैन तबसम्म उच्च शिक्षामा गुणस्तर आउन नितान्त कठिन छ । पाठ्यक्रममा स्थानीय सन्दर्भ सामग्रीसमेत समावेश गरिनुपर्छ । सृजनशीलता, व्यावहारिकता तथा अनुसन्धानबाट ज्ञान आर्जन गराइने शैली निर्माण गरिनुपर्छ जसले परीक्षा बोझ न भई उत्साहका रूप लिन जान्छ ।

लेखक मधेश विश्वविद्यालयका उप–प्राध्यापक तथा परीक्षा व्यवस्थापन प्रमुख हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।