काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना ‘ए–३३०’ विमानहरूमध्ये एकको इन्जिन मर्मतको विषयमा केही अनलाइन सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएको छ । उक्त समाचारमा गरिएको दाबी भ्रामक र वास्तविक तथ्यसँग मेल नखाने खालको रहेको निगमको स्पष्टोक्ति छ । निगमका अनुसार एक अनलाइन मिडियाले ‘वाइडबडी इन्जिन मर्मतमा चलखेल, ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । निगमले उक्त समाचारमा गरिएका दाबीहरूलाई अस्वीकार गरेको छ ।
‘सञ्चालनमा रहेका दुईओटा वाइडबडी विमानका चारओटै इन्जिन निकट भविष्यमा मर्मतसम्भार अनिवार्य रूपमा गर्नुपर्ने हुँदा इन्जिनहरूको मर्मतसम्भार तथा इन्जिन लिजमा लिन टेन्डर प्रक्रियाका लागि सीएएम विभागका निर्देशक महेशकुमार मरिताको संयोजकत्वमा एक उपसमिति बनाई काम भइरहेको छ,’ निगमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । वाइडबडी विमानमा भएका इन्जिनहरू रोल्स रोयस निर्माता कम्पनी ओरिजिनल इक्वीपमेन्ट म्यानुफ्याक्चरर (ओइएम)कै भएको र सोको मर्मत निगमका लागि पहिलो समेत भएकाले यस्तो जटिल प्रकृतिको प्राविधिक विषय एवं मर्मतका लागि प्राविधिक जानकारी संकलन, मर्मत कार्यको समय र लागत आकलन तथा बजार व्यवस्थापनको तयारी गर्न मात्र छलफल गरिएको निगमले बताएको छ ।
निगमले वाइडबडी इञ्जिन मर्मतमा मापदण्ड उल्लंघन गरिएको भन्ने आरोप निराधार भएको भन्दै मर्मत कार्य नियमित प्रक्रियाबाटै अगाडि बढाइएको स्पष्ट पारेको छ । साथै सञ्चारमाध्यम, सरोकारवाला र आम नागरिकहरूलाई भ्रममा नपर्न आग्रह गर्दै निगमले यस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी वा गलत व्याख्या नगरिदिन अनुरोध गरेको छ । संस्थाको छवि र सार्वजनिक विश्वासमा आँच आउने खालका भ्रामक विवरणप्रति सजग रहन आग्रह गर्दै निगमले यथार्थ बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सबैलाई अनुरोध गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।