काठमाडौं । चीनको तिब्बत क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा गत मंगलवार आएको बाढीले रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका १० ओटा जलविद्युत आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
इप्पानले सार्वजनिक गरेको विज्ञप्तिअनुसार बाढीबाट २५० मेगावाट क्षमता भन्दा बढीका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण कार्य अवरुद्ध भएको छ ।
बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे, १४–१४ मेगावाटका माथिल्लो मैलुङ र देवीघाट, तथा ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । तीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।
इप्पानका अनुसार निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली र ३७ मेगावाटको त्रिशूली ३बी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेकाले यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुने इप्पानले जनाएको छ । यसबाट दिनहुँ करोडौं रुपैयाँको घाटा व्यहोर्नुपर्ने इप्पानको अनुमान छ ।
बाढीले नेपाल–चीन जोड्ने टिमुरेस्थित मितेरी पुल बगाउनुका साथै निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्याएको छ । टिमुरे सुख्खा बन्दरगाहमा रहेका दर्जनौं कन्टेनर र सयौं सवारीसाधन पनि बाढीले बगाएको छ ।
इप्पानले बाढीले क्षति पुर्याएका संरचनाको पुर्ननिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन सरकारसँग आग्रहसमेत गरेको छ।
जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै उक्त बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ ।
बाढीमा परेर अहिलेसम्म ९ जनाको ज्यान गइसकेको छ भने १९ जना बेपत्ता छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।