अन्नपूर्ण माछा दाना उद्योगमा टिम भेञ्चर्सको २१ करोड ६८ लाख रुपैयाँ लगानी

Share News

काठमाडौं । नेपालको एउटा प्रमुख वैकल्पिक लगानी कम्पनी टिम भेञ्चर्सले माछाको दाना उत्पादन कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडमा रणनीतिक लगानीको घोषणा गरेको छ । टिम भेञ्चर्स र आबद्ध साझेदाहरूले अन्नपूर्ण माछा उद्योगमा संयुक्त रूपमा रु २१ करोड ६८ लाख लगानी गरेका छन् ।  कृषिसम्बन्धी प्रशोधन कम्पनी अन्नपूर्ण माछा दाना उद्योगमा यो पहिलो संस्थागत लगानी हो । यो  लगानीले नेपालमा कृषि क्षेत्रलाई सबल र दीगो बनाउने टिम भेञ्चर्सको प्रतिबद्धता दर्शाएको छ ।

टिम भेञ्चर्सका प्रमुख लगानी अधिकृत विकासचन्द्र भण्डारी भन्छन्‚ “हामीले अन्नपूर्ण माछा दाना उद्योगलाई माछाको दाना उत्पादनमा दीगो तवरबाट राष्ट्रिय रुपमा नै अग्रणी बन्न सक्ने सम्भावना भएको कम्पनीको रूपमा लिएका छौं । यो पूँजीको साझेदारीमात्र होइन, आयात प्रतिस्थापन गर्ने र स्वदेशी उत्पादन वृद्धि गर्दै रोजगारी र आत्मनिर्भरता प्रवर्द्धन गर्ने अभियान हो।”

अन्नपूर्ण माछा दान उद्योग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक यश पुरीले उद्योगमा टिम भेन्चर्सलाई पहिलो संस्थागत लगानीकर्ताका रुपमा भित्र्याउन पाउँदा खुशी लागेको र सम्मानित अनुभव गरेको बताए । उनले भने‚ “यो लगानीले उद्योगका क्षेत्रमा नेपालमै आधारित कम्पनीहरूले पनि व्यापार विस्तार गर्न, नवीनता ल्याउन र सुदृढ संस्थागत सुशासन प्रणाली अपनाउन सक्छन् भन्ने सशक्त सन्देश दिएको छ । टिम भेञ्चर्सको रणनीतिक सहयोगमा हामी आयात निर्भरता घटाउने र स्वदेश तथा निर्यात बजारको लागि विश्वस्तरीय उत्पादन विकास गर्ने सफल हुनेमा विश्वस्त छौं ।”

टिम भेञ्चर्सको कृषि क्षेत्रमा लगानी प्रवर्द्धन यूके सरकारको लगानी रहेको कमर्सियल एग्रीकल्चर फर स्मलहोल्डर्स एन्ड एग्रीबिजनेस (CASA) कार्यक्रमसँगको सहकार्यले महत्त्वपूर्ण भूमिका खेलेको छ। स्विसकन्ट्याक्ट र एनआईआरएएस (NIRAS) बाट कार्यान्वयन भएको सीएएसए कार्यक्रमले टिम भेञ्चर्सलाई बजार मूल्याङ्कन गर्न, लगानीयोग्य कृषि व्यवसाय पहिचान गर्न र तिनीहरूलाई लगानीका लागि तयार पार्न आवश्यक प्राविधिक विशेषज्ञता प्रदान गरेको थियो ।

सीएएसए नेपालका कन्ट्री म्यानेजर मनिषविक्रम शाहले भने‚ “यो साझेदारीले अब कृषि विकासको प्राथमिकतामात्र नरहेको र लगानीका लागि आकर्षक अवसर भएको पनि प्रमाणित गरेको छ ।”

यो लगानीमार्फत सीएएसएको अनुदानको २२ गुणाभन्दा बढी निजी पूँजी परिचालन भएको छ । टिम भेञ्चर्सले नेपालमा कृषि क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बढाउँदै दीगो वृद्धि गर्नसक्ने क्षमतायुक्त कम्पनीहरूलाई सघाउँदै कृषि क्षेत्रमा बहुआयामिक काम गर्ने लक्ष्यमा अग्रसर रहेको जनाएको छ।

टिम भेञ्चर्स नेपाल ८ वर्षभन्दा बढी समयदेखि निजी इक्विटी र भेञ्चर क्यापिटलमा काम गर्दै वैकल्पिक लगानी संस्था हो । यसले स्वच्छ ऊर्जा, पूर्वाधार, कृषि, निर्माण र प्रविधिका क्षेत्रमा लगानीमार्फत दीगो आर्थिक विकास प्रवर्द्धन गर्दै आएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।