काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूमा अधिकतम ब्याजदरको सीमा हटाउँदै आधार दरका आधारमा ब्याजदर तोक्न पाउने नियम लागू गरेको छ ।
बिहीवार एक परिपत्र गर्दै केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरूले आधारदर (बेस रेट)मा तीन प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको कर्जामा तोक्दै आएको ब्याजदरको सीमा हटाउँदै साउनदेखि आधारदरमा प्रिमियम जोडेर ब्याजदर तय हुने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । जसअनुसार अब लघुवित्त संस्थाहरूले पनि आफ्नो तीन महीनाको औसत आधारदरमा तीन प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याजदर तय गर्न पाउने भएका छन् ।
२०७३ सालदेखि राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याज लिन बन्देज गरेको थियो ।
यस्तो प्रावधान बजारमुखी अर्थतन्त्रको विरुद्ध रहेको भन्दै लघुवित्त संस्थाहरूले विरोध गर्दै आएका थिए ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले २०८२ जेठदेखि लघुवित्तमा आधारदर लागू गर्ने घोषणा गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।