काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित सो सम्मान नेपाल जनप्रशासन संघले श्रेष्ठलाई प्रदान गरेको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बिहीवार एक कार्यक्रमकाबीच पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैयाँसहितको सम्मान गरेका छन् ।
सो क्रममा प्रधान्यायाधीश राउतले श्रेष्ठले न्याय क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । राउतले हेमबहादुर मल्लले देखाएको सत्कर्मलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए । राउतले पछिल्लो समय निराशा बढेको बताउँदै निवृत्त कर्मचारीहरूले समेत आशाको सञ्चार जगाउन भूमिका खेल्नुपर्ने बेला आएको बताए ।
पूर्वप्रधान्यायाधीश श्रेष्ठले संविधान बनेपछि सबै समस्या हल हुने बताइए पनि अहिले पनि समस्याहरू हटन नसकेको बताए । मुलुकभित्र सुशासनको ठूलो खडेरी देखिएको उनको भनाइ छ । यसमा गम्भीर हुन उनको सुझाव छ ।
कल्याण श्रेष्ठले कानून र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए ।
उनी मुलुकका २५औं प्रधानन्यायाधीश हुन् । दश वर्षे सशस्त्र द्वन्द्वको अवसान, बृहत् शान्ति सम्झौता र संविधानसभाको निर्वाचनजस्ता महत्त्वपूर्ण राजनीतिक संक्रमणका बखत उनको न्यायिक सक्रियता उल्लेखनीय छ ।
संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उनका विचार, अडान र फैसलाहरूको ऐतिहासिक भूमिकालगायतको विशिष्ट
योगदानको कदरस्वरूप उनलाई सो सम्मान गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले बताए ।
श्रेष्ठको चयन लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित छनोट समितिले गरेको हो । समितिमा संघका अध्यक्ष आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला र संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा रहेका छन् ।
हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना गरिएको हो । सार्वजनिक वितरण, सेवा र व्यवस्थापन क्षेत्रमा स्वर्गीय हेमबहादुर मल्लको योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा उक्त सम्मान स्थापना गरिएको हो ।
नेपाल जन–प्रशासन सङ्घले यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापालाई सो सम्मान प्रदान गरिसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।