एनपीएलको अन्योल हट्यो‚ खेलमा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली अन्तरराष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ उद्घाटन कार्यक्रमलाई बिहीवार सम्बोधन गर्नुहुँदै । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

Share News

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको तयारी गर्न र खेलकुदमा राजनीति नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ ।

राखेपले सादोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिषद्‌मा निर्माण गरेको ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटनमा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपीएल आयोजनाको तयारी अघि बढाउनमा ध्यान दिन परिषद्लाई निर्देशन दिनु भएको हो । 

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपीएल आयोजनाको काम अघि नबढाउन राखेपले पत्र पठाएपछि अन्योल उत्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै प्रकारको राजनीति नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीको यो भनाइले एनपीएल आयोजनामा उब्जिएको संशय अन्त्य भएको छ । उहाँले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै दशरथ रङ्गलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रङ्गशाला बनाउने घोषणासमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न आग्रह गर्दै फेरि मिति सारे राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगिता गर्न परिषद्लाई निर्देशन दिनुभयो । आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।