विगत १ दशकको समय नियाल्ने हो भने प्रविधिले हाम्रो जीवनमा निकै ठूलो परिवर्तन ल्याएको देखिन्छ । त्यतिबेला कम्प्युटरसम्म देख्न नपाएकाहरू अहिले हरेक क्षण च्याटिङ गर्ने, ईमेल पठाउनेलगायत कार्यमा व्यस्त देखिन्छन् । अहिले मानिस घरबाट निस्कँदा सँगै लैजानुपर्ने जरुरी सामान भुल्न सक्छन्, तर मोबाइल फोन बोक्न कहिल्यै बिर्संदैनन् । मोबाइल फोन र मानिसबीच अहिले निकट सम्बन्ध रहेको पाइन्छ । यो सम्बन्धका लागि स्मार्टफोनको ठूलोे योगदान रहेको प्रविधि विशेषज्ञकहरू बताउँछन् । फोनका साथै अन्य विभिन्न उपकरणका रूपमा समेत काममा आउनु यसको कारण भएको उनीहरूको भनाइ छ ।
स्मार्टफोनको विकासक्रम
नयाँ प्रविधिका रूपमा रहेको स्मार्टफोनको विकास भएको धेरै समय भएको छैन । यसको विकासक्रमलाई सङ्क्षेपमा निम्नानुसार देखाउन सकिन्छ :
सन् १९९२ : आईबीएम (इण्टरनेशनल बिजनेश मेशिनद्वारा पहिलो स्मार्टफोनको आविष्कार । सिमोन नाम गरिएको उक्त स्मार्टफोनमा पात्रो (क्यालेण्डर), एड्रेसबूक, क्याल्कुलेटर, ईमेल तथा टचस्क्रिन सुविधासमेत थियो ।
सन् १९९६ : नोकियाले फोन तथा पीडीए अर्थात् व्यक्तिगत व्यवस्थापक (पर्सनल अर्गनाइजर) तथा ईमेल–ईण्टरनेट सुविधासहितको कम्प्युटर दुवैको काम गर्न सक्ने स्मार्टफोनका संस्करण नै सार्वजनिक गरेको थियो ।
सन् २००० : एरिक्शन कम्पनीद्वारा आर–३८० नाम गरेको टचस्क्रिन स्मार्टफोनको विकास भयो । यसमा सिम्बायनमा आधारित अपरेटिङ सिष्टम (ओएस) तथा पट्याउन मिल्ने (फोल्डेबल) किबोर्डसमेत उपलब्ध गरिएको थियो । अधिकांश प्रविधि विशेषज्ञहरू यसैलाई पहिलो स्मार्टफोन मान्ने गर्छन् ।
सन् २००२ : वास्तवमा स्मार्टफोनको लोकप्रियता चुलिएको समयका रूपमा यस वर्षलाई लिइन्छ । यही वर्ष ईमेल सेवासहितको ब्ल्याकबेरी, पाल्म ट्रिओ (फुल क्वेर्टी किबोर्डसहितको मोबाइल) र एरिक्शनको पी–८०० पनि सार्वजनिक गरिएका थिए । साथै, एमपीथ्री प्लेयर, क्यामेरा र ताररहित प्रविधिलगायत नयाँ फिचरसमेत यसै वर्ष स्मार्टफोनमा पहिलोपटक उपलब्ध गरिएको थियो । ईमेल आदानप्रदान गर्ने कार्यले पनि यही वर्षदेखि लोकप्रियता पाएको मानिन्छ ।
सन् २००५ : सोनी एरिक्शनले आफ्नो अत्यधिक लोकप्रिय हुन सफल एन सेरिजका मोबाइल यस वर्ष सार्वजनिक गरेको थियो । कम्प्युटिङ (हिसाब गर्ने) क्षमताका आधारमा विशेष व्यावसायिक मानिसलाई लक्षित गरी यसलाई बजारमा ल्याइएको थियो ।
सन् २००७ : व्यापक एप स्टोरसहितको एप्पल आईफोन सार्वजनिक
सन् २००८ : सबैका लागि खुल्ला (ओपन सोर्स) एण्ड्रोइड अपरेटिङ सिष्टमको शुरुआत गरियो । गूगल, इण्टेल, एचटीसीलगायत अन्य थुप्रै कम्पनीले यसमा सहयोग पुर्याएका थिए ।
सन् २००८ देखि हालसम्म : बजारमा रहेका प्रमुख कम्पनीद्वारा निरन्तर नयाँनयाँ स्मार्टफोन सार्वजनिक गरिँदै आएको छ । अहिले बजारमा तीव्रगतिको इण्टरनेटका साथै अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन कसले ल्याउने भन्ने विषयमा व्यापक प्रतिस्पर्धा चलिरहेको छ ।
वाईफाई डाइरेक्ट
एण्ड्रोइड स्मार्टफोनहरूमा ठूलो साइजका भिडियोलगायत अन्य फाइल आदानप्रदान गर्न वाईफाई डाइरेक्टको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा करीब १ जीबीसम्म आकारका फाइल करीब ५ मिनेटमै आदानप्रदान गर्न सकिन्छ । फोन आफै एकअर्कासँग सहज ढङ्गले कनेक्टेड (जोडिने) हुने भएकाले यसका लागि वाईफाई सुविधासमेतको आवश्यकता पर्दैन ।
एनएफसीद्वारा सञ्चार
एनएफसी अर्थात् नियर फिल्ड कम्युनिकेशनको सहायताले छोटो दूरीमा रहेका अन्य मोबाइलमा सजिलै साधारण एपको सहायताले सन्देश आदानप्रदान गर्न सकिन्छ ।
ओटीजीको सहायताले फाइल आदानप्रदान
यूएसबी (युनिभर्सल सिरियल बस) होष्टको सहायताले यूएसबी फ्ल्यास ड्राइभमार्फत फोन प्लग (जडान) गरी फाइल सजिलै कपी तथा पेष्ट गर्न सकिन्छ । एण्ड्रोइडले फाइल एक्स्प्लोररको सहायताले उपकरणमा रहेका फाइल प्रणालीमा सजिलै पहुँच बनाउनसमेत सहयोग पुर्याउँछ ।
किबोर्ड परिवर्तनको सुविधा
एप्पलको प्रयोग गर्दा एकै प्रकारको किबोर्ड (कम्पनीले उपलब्ध गराएको) प्रयोग गर्न तपाईं बाध्य हुनुहुन्छ । तर, एण्ड्रोइडले स्वाप एण्ड स्लाइडलगायत आकर्षक सुविधासहित विभिन्न किसिमका किबोर्डको प्रयोग गर्ने अवसर प्रदान गर्छ । यी किबोर्डले तपाईंलाई शब्दका बारेमा आफ्नो अनुमान उपलब्ध गराएर सहज बनाउँछ नै, समय अन्तरालमा तपाईंको स्टाइलका बारेमा बुझेर विभिन्न इनपुट अप्शनसमेत उपलब्ध गराउँछ ।
स्प्याम म्यासेज ब्लक गर्न सहज
म्यासेज तथा कलमा आईओएसमार्फत नियन्त्रण गर्न सकिन्न । तर, एण्ड्रोइडमा तपाईं कल तथा म्यासेज ब्लक गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्छ । यसका सहायताले तपाईं आफूलाई मन नपरेका मानिस तथा तिनका फोन नम्बर ब्लकसमेत गर्न सक्नुहुन्छ ।
लूक्समा परिवर्तन
हरेक आईफोनको एकै प्रकारको लुक्स हुन्छ । तर, एण्ड्रोइडले आफ्नो फोनको लूक्स परिमार्जन गर्ने थुप्रै अवसर प्रदान गरको पाइन्छ । यसका लागि लञ्चरको प्रयोग गर्नुपर्ने हुन्छ ।
सस्ता तारको प्रयोग
एप्पलमा लाइटनिङ केबलको प्रयोग गर्नु अनिवार्य छ । सुरक्षाका दृष्टिकोणले एप्पलले यसलाई विशेष प्राथमिकतामा समेत राखेको छ । तर, एण्ड्रोइड प्रयोगकर्तालाई यस्तो महँगो तार प्रयोग गर्नु आवश्यक छैन । किनभने, एण्ड्रोइडमा बजारमा सजिलै तथा सस्तो मूल्यमै उपलब्ध हुने कुनै पनि यूएसबी (युनिभर्सल सिरियल बस) केबुलको प्रयोग गर्न सकिन्छ ।
विजेट्स तथा अटोमेशन
एण्ड्रोइडमा आफ्ना अत्यावश्यक एपमाथि सहज पहुँचका लागि विजेट्सको प्रयोग गर्ने सुविधा छ । साथै, हरेक एपका लागि एप स्टोरमा विजेट्स उपलब्ध छन् । एण्ड्रोइड फोनमा घर तथा अफिसमा प्रवेश गर्नेबित्तिकै वाईफाईलगायत सुविधा सञ्चालनका लागि अटोमेशन फिचर छ । तर, यस्तो सुविधा आईफोनमा छैन ।
खर्च मितव्ययी सञ्चय विस्तार सुविधा
एण्ड्रोइड फोनको सञ्चय क्षमता बढाउनुपर्दा सस्तो मूल्यको बढी सञ्चय क्षमता भएका मेमोरी कार्डको प्रयोग गर्न सकिन्छ । बजारमा १६ जीबी क्षमताको माइक्रो एसडी कार्ड करीब रू. १ हजार ६ सयमा उपलब्ध छन् । एप्पलका उत्पादनको तुलनामा यो मूल्य निकै कम पर्छ ।
डाटामाथिको नियन्त्रण
एप्पलको आईफोनका तुलनामा एण्ड्रोइड प्रयोगकर्तालाई डाटा (फोटो, भिडियो) ट्रान्सफर लगायत कार्यमा करीब ३ गुणा बढी सुविधा उपलब्ध हुन्छ । साथै, फाइल म्यानेजर एपको प्रयोग गरी फोनमा रहेका सिष्टम फाइल पनि आदानप्रदान गर्ने सुविधा एण्ड्रोइडका प्रयोगकर्ताले उपभोग गर्न सक्छन् ।
एजेन्सीहरूको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।