जनचेतना फैलाउन फेसबूक प्रयोग

Share News

प्रविधि पछ्याउँदै प्रहरी

गोरखा । प्रविधिको निरन्तर विकाससँगै सामाजिक सञ्जालको प्रयोगले पनि व्यापकता पाउँदै आएको छ । अहिले फेसबूकलगायत सामाजिक सञ्जालको प्रयोग नगर्ने मानिस विरलै होलान् । एकअर्कासँग नजिकिन तथा आफ्ना कुरा अन्यको सामु सजिलै राख्न यो निकै सहयोगी हुँदै आएको छ । त्यसैले, सर्वसाधारणलाई विभिन्न जानकारी दिन तथा जनचेतना अभिवृद्धि गर्न नेपाल प्रहरी पनि यसको सहायता लिन थालेको पाइन्छ । आमजनताले प्रहरीको यो प्रयासलार्ई विशेष स्वागत गरेका छन् ।

‘नेपाल प्रहरीको अनुरोध– कृपया बालबालिकालाई अनुशासित गर्ने क्रममा कहिले पनि व्यर्थमा पुलिसले समातेर लान्छ भनी प्रहरीप्रति उनीहरूको मन–मस्तिष्कमा डर–त्रास पैदा नगराउनुहोस् । हामी चाहन्छौं, कुनै पनि बालबालिकालाई साँच्चै नै डर–त्रास महसूस भएमा उनले निधक्कसँग नजिकैको प्रहरीसँग सम्पर्क गर्न सकून् । सचेत नागरिक र प्रहरीको सहकार्यले बालबालिकाका लागि अपराधरहित भयमुक्त समाजको सृजना गरौं’ नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबूकमा तस्वीरसहितको यस्तो सूचना पोष्ट गरेको छ । करीब ३ लाख ४४ हजार ६ सय २२ जनाले लाइक गरेको ‘नेपाल पोलिस’ नामक उक्त फेसबूक पेजमा प्रहरीले दैनिक गतिविधि पोष्ट गर्दै आएको छ । यो पेजले जनचेतना फैलाउने कार्य त गरेको छ नै,  नेपाल प्रहरीसँग सम्वन्धित विभिन्न गतिविधिबारे जानकारी लिनसमेत निकै सहयोगी रहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंबाट सञ्चालित यो फेसबूक नेपाल प्रहरीको आधिकारिक अनलाइनसँग लिङ्क गरिएको छ । यसै पेजमा प्रहरीले नियमित जाँचका क्रममाः दिनहुँ भेटेका तथ्यपूर्ण जानकारी पनि समाचारको शैलीमा पोष्ट गरिएको देखिन्छ । साथै, आपत्मा परेका जनतालाई प्रहरीले गरेको सहयोग तथा सञ्चालन गरिँदै आएका विभिन्न जनचेतनामूलक कार्यक्रमका तस्वीर पनि राखिएको पाइन्छ । प्रहरीले मातहतका जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयको भवन उद्घाटन भएको जानकारी पनि फेसबूकमार्फत दिने गरेको छ । प्रयोगकर्तालाई सूचित गर्न ‘प्राइभेसी’ र ‘सेक्युरिटी सेटिङ’को भरपर्दो उपायसमेत उसको आधिकारिक फेसबूक पेजमा दिइएको छ । ‘सकेसम्म तपाईंको बालबालिका (१३ वर्षभन्दा मुनिका)लाई फेसबूक चलाउन सीमितता कायम गर्नुहोला’ उक्त पेजमा उल्लेख छ, ‘बालबालिकालाई आफ्नो फेसबूक साथीको सूचीमा राख्नुहोस् । ताकि, उनीहरूको फेसबूक क्रियाकलापमाथि निगरानी तथा निरीक्षण गर्न सकियोस् ।’ प्रहरीले नेपालको कानूनसँग सम्बन्धित साइटका लिङ्क पनि आफ्नो आधिकारिक पेजमा राख्ने गरेको छ । ७५ ओटै जिल्लाका प्रहरी कार्यालयका टेलिफोन नम्बर दिइएको उसको फेसबूक पेजमा जीवानोपयोगी र ज्ञानवर्द्धक पाठ्य सामग्रीसमेत पाइन्छन् ।

केन्द्रले फेसबूकमार्फत सूचना तथा जानकारी पोष्ट गर्न थालेपछि जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र चौकीहरूले पनि फेसबूक पेज सञ्चालन गर्न थालेका छन् । यसै क्रममा ‘जिल्ला प्रहरी कार्यालय गोरखा’ नामको फेसबूक पेज पनि सञ्चालनमा आएको छ । उक्त पेजलाई करीब १ हजार ३ सय २३ जनाले लाइक पनि गरेका छन् । गोरखाको प्रहरीले सञ्चालन गरेका विभिन्न जनचेतनामूलक कार्यक्रमबारे उक्त पेजमार्फत जानकारी दिने गरिएको छ ।

प्रहरीले गरेका विभिन्न क्रियाकलापबारे जनतालाई जानकारी दिन फेसबूक पेज सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले बताए । लागूऔषध सेवनबाट हुने हानि, सवारी चालकले अपनाउनुपर्ने नियमलगायतबारे  पनि जानकारी दिने गरिएको उनको भनाइ छ । प्रहरीले प्रविधिको उच्चतम प्रयोग गरी आफ्नो कार्यालयलाई ‘पेपरलेस’ बनाउने तयारी गर्दै छ । इलाका प्रहरी कार्यालयलाई पनि पेपरलेस बनाउने तयारी भएको उनले जानकारी दिए । प्रहरीले फेसबूकमा पोष्ट गरेको सूचनामूलक जानकारी अध्ययन गरेर पाठकले दिएका सुझाव रचनात्मक हुने गरेको उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।