असार २२, फ्राङ्कफर्ट (जर्मनी) । जर्मनीका पूर्व फूटबल खेलाडी ओलिभर खानले मानुएल नोयरलाई विश्वकै उत्कृष्ट गोलरक्षकको उपाधि दिएका छन् । मङ्गलवार जर्मनीले ब्राजिलविरुद्धको खेलको तयारी गरिरहँदा प्रख्यात पूर्वगोलरक्षक खानले नोयरको प्रशंसा गरेका हुन् । ‘उनले आफू वर्तमान समयमा सर्वाधिक उत्कृष्ट गोलरक्षक भएको प्रमाणित गरिसकेका छन्,’ जर्मन राष्ट्रिय फूटबल टोलीका पूर्वकप्तानसमेत रहेका उनले एक स्थानीय टेलिभिजन कार्यक्रममा बोल्दै भने । जर्मनीका अन्य खेलाडी लयमा नरहेको भन्ने आलोचनाहरू बढिरहँदा २८ वर्षीय नोयरले शानदार बचाउहरू गर्दै आफ्नो टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनले विपक्षीका शक्तिशाली प्रहार रोक्नुका साथै बेलाबेलामा लामा पासहरू दिने र आफ्नो क्षेत्रमा दौडिँदै बल नियन्त्रण पनि गरिरहेका छन् । यसले गर्दा नोयर ‘अतिरिक्त डिफेण्डर’का रूपमा पनि अगाडि आएको भन्दै समीक्षकहरूले उनको शैलीको सराहना गरिरहेका छन् । ब्राजिलमा जर्मनीले हालसम्म खेलेका पाँच स्पर्धामा उनले ३ गोलमात्र रोक्न सकेनन् । एएफपी/रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।