असार २२, रियो दे जेनेरियो (ब्राजिल) । विश्वकप आयोजक ब्राजिलले मङ्गलवार सेमिफाइनलमा जर्मनीको सामना गर्दैछ । गोल स्कोरर नेयमार ढाडको गम्भीर चोटका कारण आगामी स्पर्धाहरू खेल्न नसक्ने गरी बाहिरिएपछि ब्राजिलको सम्भावित प्रदर्शनबारे थुप्रै आशङ्का र अन्योल छाएको छ । यद्यपि, इतिहासको पुनरावलोकन गर्ने हो भने यो दक्षिण अमेरिकी टोलीले छैटौंपटक विश्वविजेता बन्ने आशा गुमाइहाल्नुपर्ने देखिन्न । विश्वकप इतिहासमा यस्ता केही उदाहरण भेटिन्छन्, जहाँ प्रमुख खेलाडी बाहिरिए पनि सहभागी राष्ट्रले उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेका छन् । यहाँ त्यस्तै घटनाबारे सङ्क्षिप्त चर्चा गरिएको छ :
पेले (१९६२) : नेयमार घाइते भएपछि सन् १९७० को विश्वकप टोलीका कप्तान कार्लोस अल्बर्टोले ब्राजिलको एक स्थानीय टेलिभिजन कार्यक्रममा सन् १९६२ लाई सम्झन सुझाव दिए । त्यसबेला फाइनल खेलमा चिलीविरुद्ध भिडेर आफ्नो साविक विजेता उपाधि जोगाउन तत्पर ब्राजिलमाथि स्टार स्ट्राइकर पेले घाइते भएर खेल्न नसक्ने भएपछि बज्रपात भएको थियो । उक्त विश्वकपको समूह चरणको खेलमा मेक्सिकोलाई २–० ले हराउन प्रमुख भूमिका खेलेका उनको चेकोस्लोभाकियाविरुद्धको स्पर्धाका क्रममा खुट्टाको मांशपेशी च्यातिन पुग्यो । तर, सौभाग्यवश पेलेको स्थान ‘गारिन्चा’ उपनामले प्रख्यात फरवार्ड म्यानुएल फ्रान्सिस्को डस साण्टोसले लिन पुगे । गारिन्चाको जादूमयी प्रदर्शनकै कारण ब्राजिलले क्वार्टरफाइनलमा इङ्ल्याण्ड र चिलीलाई हराएर फाइनलमा चेकोस्लोभाकियालाई ३–१ ले पराजित ग¥यो र लगातार दोस्रोपटक विश्वकप उचाल्न सफल भयो ।
जीआनकार्लो एण्टोग्नोनी (१९६२) : सन् १९८२ को विश्वकपताका इटलीका २८ वर्षीय आक्रामक मिडफिल्डर जीआनकार्लो एण्टोग्नोनी आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा थिए । मैदानमा उत्रिएर विपक्षीहरूलाई त्राहिमाम बनाउने उनको खुट्टामा सेमिफाइनलको पोल्याण्डविरुद्धको स्पर्धाका क्रममा घाउ लाग्यो । यसले गर्दा एकपछि अर्को जित हात पारिरहेको इटलीको विजय यात्रामाथि विराम लाग्ने सम्भावना बलियो हुनपुग्यो । यद्यपि, एण्टोग्नोनीको ठाउँ मार्को टार्डेल्लीले सम्हाल्न पुगे र उनको जोडदार प्रदर्शनले गर्दा इटलीले जर्मनीलाई हराउँदै विश्वकप हात पार्यो ।
माउरो टास्सोटी÷लियोनार्दो अराउजो (१९९४) : सन् १९९४ को विश्वकपका स्पर्धाहरू चलिरहँदा इटलीका टास्सोटी र ब्राजिलका अराउजोलाई फिफाले अनुशासनको कारबाही गरेपछि ती दुई देशका प्रदर्शनबारे चिन्ताहरू व्याप्त भएका थिए । यसपालि उरुग्वेका लुइस सुआरेजमाथि लागेको ९ खेलको प्रतिबन्धजस्तै टास्सोटीलाई ८ ओटा स्पर्धा खेल्न नपाउने गरी कारबाही गरिएको थियो । क्वार्टरफाइनलमा स्पेनविरुद्धको खेलमा उनले स्पेनी मिडफिल्डर लुइस एनरिकेको नाक भाँचिदिएपछि उनी निलम्बित भए । त्यसैगरी, प्रि–क्वार्टरफाइनलमा अमेरिकाका ट्याब रामोसको टाउको फुट्ने गरी साङ्घातिक तवरले ‘ट्याकल’ गरेको आरोपमा ब्राजिलका आक्रामक मिडफिल्डर लियोनार्दो आराउजोले ४ खेलको प्रतिबन्ध खेप्नुपर्यो । दुई मुख्य खेलाडीहरू गुमाए पनि इटली र ब्राजिल अगाडिका स्पर्धाहरू जित्दै सन् १९९४ को विश्वकप फाइनलमा भिड्न पुगे । उक्त फाइनल खेलमा पेनाल्टी शुटआउटका आधारमा ब्राजिल विजयी भयो ।
लराँ ब्लाँ (१९९८) : फ्रान्सका उत्कृष्ट डिफेण्डर लराँ ब्लाँलाई उत्कृष्ट अनुशासन रेकर्ड कायम गर्ने खेलाडीका रूपमा लिइन्छ । यद्यपि, उनले आफ्नो खेल जीवनमा एकपटक रातो कार्डको सामना गर्नुपरेको थियो । फ्रान्समै आयोजित सन् १९९८ को विश्वकप सेमिफाइनल खेलमा क्रोएसियाका स्लाभेन बिलीकलाई ‘हेड बट’ (टाउकोले हान्नु) गरेको आरोप लागेपछि उनी आगामी खेलमा निलम्बित भए । रेफ्रीको उक्त निर्णय विवादित भयो किनकी, ब्लाँ जस्तो भलाद्मी खेलाडीले कसैलाई पनि हेड बट गर्न सक्दैनन् भन्ने मान्यता धेरै खेल समीक्षकहरूले गरेका थिए । बल नियन्त्रण गर्ने ब्लाँको टाउकोले बिलीकको शरीरमा सामान्य ढङ्गले नै छोएको धेरैको निष्कर्ष थियो । फिफाले उक्त निर्णयलाई नै सदर गरेपछि ‘द प्रेसिडेण्ट’ उपनाम पाएका उनको अनुपस्थितिका कारण फ्रान्सले आफ्नो सर्वाधिक महŒवपूर्ण डिफेण्डर गुमाएर समस्यामा परेको विश्लेषण धेरैले गरे । यद्यपि, फाइनलमा अन्य खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले गर्दा साविक विजेता ब्राजिललाई ३–० ले हराएर फ्रान्सले पहिलोपटक विश्वकप उचाल्यो । एएफपी/रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।