जारी विश्वकपअन्तर्गत अन्तिम चारमा स्थान बनाउने सबै टोलीको टुङ्गो लागेको छ । नेदरल्याण्ड्सले आइतवार बिहान सम्पन्न खेलमा कोष्टारिकालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो । कोष्टारिकासँग भाग्यशाली जित दर्ता गरेसँगै नेदरल्याण्ड्सको भेट सेमिफाइनलमा अर्जेण्टिनासँग हुने भएको छ । अर्जेण्टिना क्वार्टरफाइनलमा बेल्जियमको चुनौती १–० ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । उता, ब्राजिल र जर्मनी यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यसपटक दुई दक्षिण अमेरिकी तथा दुई यूरोपेली टोली उपाधि होडमा मैदान उत्रिनेछन् ।
ब्राजिलविरुद्ध जर्मनी
यी दुई टोलीबीचको खेलले फूटबलप्रेमीलाई पुनः एकपटक सन् २००२ को विश्वकप फाइनलको झझल्को दिनेछ । जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको सो विश्वकपमा जर्मनीलाई २–० ले हराउँदै ब्राजिलले उपाधि कब्जा गरेको थियो । सो समय ब्राजिल उच्च लयमा थियो । फाइनलमा एक्लै दुई गोल गरेका रोनाल्डोले प्रतियोगितामा कुल आठ गोल आफ्नो नाममा लेखाएका थिए । मङ्गलवार हुने जर्मनीसँगको खेलमा ब्राजिलले तत्कालीन रोनाल्डोजत्तिकै लयबाट गुज्रिरहेका स्टार फरवार्ड नेमारको अभाव महसूस गर्नेछ । क्वार्टरफाइनलमा कोलिम्बयासँगको खेलमा चोट बोकेका नेमार प्रतियोगिताभर खेलमा फर्कने छैनन् । उता, कप्तान थिएगो शिल्भा दोहोरो पहेँलो कार्डका लागि एक खेलको प्रतिबन्धमा छन् । ब्राजिलको सेमिफाइनलसम्मको यात्रामा यी दुई खेलाडीको ठूलो छ । यस अवस्थामा जर्मनी तुलनात्मक रूपमा कम दबाबमा खेल्नेछ । उसले क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सको चुनौती १–० ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । उसका अधिकांश खेलाडी अहिले उच्च लयबाट गुज्रिरहेका छन् ।
अर्जेण्टिनाविरुद्ध नेदरल्याण्ड्स
आफ्नो पहिलो विश्वकप सेमिफाइनल खेलमा शतप्रतिशत जितको खोजीमा हुनेछन्– अर्जेण्टिनाका स्टार फरवार्ड कप्तान लियोनल मेसी । जारी विश्वकपमा भाग्यशाली टोलीको उपमा पाएको अर्जेण्टिनालाई एक्लो प्रयासले क्वार्टरफाइनलसम्म पु¥याउन सफल मेसी सेमिफाइनलमा भने तुलनात्मक रूपमा कम दबाबमा हुनेछन् । किनकी टोलीका एञ्जल डी–मारिया, गोञ्जालो हिगुइनजस्ता फरवार्ड लयमा आइसकेका छन् ।
अर्जेण्टिनाले सन् १९९० पछि पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको हो । डिएगो म्याराडोनाको अगुवाइमा खेलेको अर्जेण्टिना सो वर्ष सेमिफाइनलमा पश्चिम जर्मनीसँग १–० ले हारेको थियो । म्याराडोनासँग तुलनायोग्य अर्का स्टार मेसीको अगुवाइमा रहेको अर्जेण्टिनालाई नेदरल्याण्ड्ससँगको भिडन्त सजिलो भने छैन । कप्तान रोविनभान पर्सी, आर्जेन रोवेन, स्नाइडरजस्ता तेज गतिका फरवार्डको दबाब अर्जेण्टिनाका लागि भारी पर्न सक्छ । तर, दक्षिण अफ्रिकामा सम्पन्न १९औं संस्करणको उपविजेता टोली नेदरल्याण्ड्सले क्वार्टरफाइनमा कोष्टारिकासँग निर्धारित र अतिरिक्त समयमा पनि गोल गर्न भने सकेन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।