असार २३, साल्भाडोर (ब्राजिल) । पेनाल्टी शुटआउटमा दुई उत्कृष्ट बचाउ गर्दै टोलीलाई सेमिफाइनल प्रवेश गराएका नेदरल्याण्ड्सका दोस्रो रोजाइका गोलरक्षक टीम क्रुलले अर्जेण्टिनाका कप्तान मेसीको फ्रिकिक तथा पेनाल्टी प्रहारबारे टोलीले अध्ययन गरिरहेको बताएका छन् । बुधवार हुने सेमिफाइनलमा सम्भावित आवश्यकतालाई दृष्टिगत गर्दै अर्जेण्टिनाका मेसीसहित फ्रिकिक र पेनाल्टी प्रहार गर्ने खेलाडीको गोलबारे सूक्ष्म अध्ययन गरिरहेको क्रुलले खुलाएका हुन् । यसअघि कोष्टारिकासँगको खेलमा नियमित फ्रिकिक र पेनाल्टी प्रहार गर्ने खेलाडीको गोल अध्ययन गरेपछि टोलीले भरपूर फाइदा उठाएपछि नेदरल्याण्ड्सले अर्जेण्टिनाबाट नियमित पेनाल्टी प्रहार गर्ने खेलाडीबारे विशेष अध्ययन गर्ने उनले बताए । बुधवार खेल पेनाल्टी शुटआउटसम्म पुगे पनि टोली त्यसका लागि तयार रहेको क्रुलको भनाइ छ ।
फिफाको आधिकारिक वेबसाइटका अनुसार क्रुलले टोलीका हरेक गोलरक्षक र प्रशिक्षकले यसअघि पनि सबै टोलीबारे सोही प्रकारको अध्ययन गर्दै आएको र यस खेलअघि विशेष अध्ययन गरिने बताएका छन् । यी दुई बुधवार ब्राजिलको साओपाओलोमा फाइनल प्रवेशका लागि भिड्दैछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।