बुधवारको खेललाई लिएर डच राजा र रानी विभाजित !

Share News


असार २४, आमस्र्टडाम (नेदरल्याण्ड्स) । अन्तरराष्ट्रिय फूटबल प्रतियोगिताहरूले विश्वलाई अनेक प्रकारले एकताबद्ध पार्छन् भन्ने आममान्यता प्रचलित छ । तर, ती स्पर्धाहरूले विभाजन पनि ल्याउन सक्छन् । समर्थकहरूको निष्ठा राष्ट्रिय तथा क्लब टोलीहरूबीच बाँडिँदा अस्थायी (अथवा कहिलेकाहीँ लामो समयसम्म) साथीभाइ, परिवार र शाही घरानाबीच पनि विभाजन आउन सक्छ । ब्राजिल विश्वकपको बुधवार हुने नेदरल्याण्ड्स र अर्जेण्टिनाबीचको खेल पनि यसको अपवाद नहुने देखिएको छ, विशेषगरी डच राजपरिवारका लागि ।

उक्त स्पर्धाको सम्भावित मनमुटावको शिकार भएका छन् डच राजा विलीएम अलेक्जेण्डर र रानी म्याक्सिमा । अर्जेण्टिनामा जन्मे हुर्केकी म्याक्सिमाले सन् २००१ मा एक शाही आदेशअन्तर्गत नेदरल्याण्ड्सको नागरिकता पाएकी थिइन् । तत्कालीन युवराज विलीएमसँगको प्रेम सम्बन्धलाई वैवाहिक रूप दिन उक्त आदेश जारी गरिएको थियो । सार्वजनिक रूपमा डच फूटबल टोलीलाई खुलेर समर्थन गरिरहेकी उनको झुकाव भने आफ्नो जन्मभूमि अर्जेण्टिनातर्फ गएको कतिपय जानकारहरू बताउँछन् । विश्वकपमा नेदरल्याण्ड्स र अष्ट्रेलियाबीचको खेलमा उपस्थित यी दुई शाही जोडीले बुधवारको स्पर्धा भने अवलोकन नगर्ने भएपछि उनीहरू समर्थनको विषयमा विभाजित भएको अनुमान गरिएको छ । डच सरकारले आफ्ना राष्ट्राध्यक्ष र रानी यो खेल हेर्न रङ्गशालामा उपस्थित नहुने खबरको पुष्टि गरिसकेको छ । समूह चरणको उक्त खेलमा अष्ट्रेलियालाई हराएपछि राष्ट्रिय टोलीलाई भेट्न राजारानी खेलाडीहरूको ‘चेञ्जिङ रूम’मै पुगेका थिए ।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका पूर्वसदस्यसमेत रहेका राजा विलीएम डच खेलाडीहरूको मनोबल बढाउन अघि बढ्ने व्यक्तित्वका रूपमा चिरपरिचित छन् । अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा पुगेर आफ्नो देशका खेलाडीहरूको समर्थन गर्ने उनी गत ओलम्पिकमा पनि पुगेका थिए । एपी/रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।