७ गोल गर्दा जर्मनी नै चकित

Share News


असार २५, बेल होरिजोण्ट (ब्राजिल) । ब्राजिलविरुद्ध ७ गोल गरेपछि जर्मनीका स्ट्राइकर थोमस मुल्लरले भने, ‘जसरी हामीले गोल ग¥यौं त्यो वास्तवमै अनपेक्षित थियो । ब्राजिलजस्तो उत्कृष्ट डिफेन्स भएको टोलीविरुद्धको गोलसङ्ख्या हामीलाई नै अचम्म पार्ने किसिमको छ ।’ ब्राजिलविरुद्धको सेमिफाइनलमा एकपछि अर्को गोल गरेको जर्मनीका लागि वास्तवमै यो एउटा अचम्मको खेल हुन पुग्यो ।

खेलको ११औं मिनेटमा थोमस मुलरले गोलको खाता खोलेपछि पहिलो हाफको आधा घण्टामै टोलीले ५ गोल पु¥याइसकेको थियो । दोस्रो हाफमा पनि २ गोल गरेपछि जर्मनीले अनपेक्षित जित दर्ता गराएको हो । समूह चरणको खेलमा अल्जेरियाविरुद्ध २—१ को कठिन जित निकालेपछि समर्थकको आलोचना खेप्नु परेको टोली अब भने सधैं प्रशंसनीय बन्ने मुल्लरको भनाइ छ ।

जर्मनीका प्रशिक्षक जोआकिम लोले पनि जितलाई पूर्ण आश्चर्यको संज्ञा दिएका छन् । घरेलु मैदानमा ब्राजिल जितका लागि आतुर भए पनि पहिलो गोलपछि पूर्णतः दबाबमा आएको उनको भनाइ छ । ‘वास्तवमा हामीले नै ब्राजिलविरुद्ध संयम भएर खेल्नुपर्ने रणनीति अपनाएका थियौं,’ उनले भने, ‘तर गोल शुरू भएपछि त्यो जर्मनी र ब्राजिल दुवैका लागि अचम्मजस्तै भयो ।’ सन् २००२ को विश्वकप फूटबलमा ब्राजिलसँग फाइनल खेल गुमाएको जर्मनीले यो जितसँगै बदला लिएको धेरैको अनुमान छ । तर, जर्मनी भने ब्राजिलविरुद्धको जितमा रमाउनुभन्दा विश्वकप उपाधि हासिल गर्न बढी केन्द्रित भएको मुलरको भनाइ छ । जर्मनीले आगामी आइतवार फाइनल खेल खेल्नेछ । एपी/रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।